तलेजु भवानीको प्राचीन कण्ठहार कसरी अमेरिका पुग्यो, के नेपाल फिर्ता होला

तलेजु भवानीको कण्ठहार
तस्बिरको क्याप्शन, तलेजु भवानीको कण्ठहार अहिले शिकागोको एउटा सङ्ग्रहालयमा छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

नेपालबाट चोरिएका कलावस्तुबारे बीबीसी न्यूज नेपालीले तीनवटा अनुसन्धानमूलक सामग्री तयार पारेको छ। यो लेख त्यसअन्तर्गतको दोस्रो सामग्री हो। तेस्रो सामग्री पनि चाँडै प्रकाशित हुने छ।

----------------------------------

संयुक्त राज्य अमेरिकाको शिकागो सहरस्थित 'आर्ट इन्स्टिट्यूट अफ शिकागो'को सङ्ग्रहालयमा विशेष महत्त्वका साथ प्रदर्शनमा राखिएको एउटा कण्ठहार नेपालले चोरिएका सम्पदा स्वदेशफिर्ती गराउन थालेको अभियानको प्रतीकजस्तै बन्न पुगेको छ।

काठमाण्डूको सबभन्दा भव्यमध्येको तलेजु भवानीको मन्दिरमा रहँदै आएको देवीको उक्त आभूषणलाई अमेरिकाबाट नेपाल फिर्ता गराउन वर्षौँदेखि नागरिक समाजमार्फत् मात्र नभई सरकारी तवरबाट पनि अभियान जारी छ।

तर केही साता अघि बीबीसीले उक्त सङ्ग्रहालयलाई उक्त कण्ठहार फिर्तीबारे सोधेको प्रश्नमा उसले त्यो नेपालकै हो र चोरी भएर त्यहाँ पुगेको भन्ने यकिन गर्न थप प्रमाण खोजिएको सङ्केत गरेको छ।

अतिगोप्य र गुह्य तरिकाले संरक्षित तलेजु भवानीको गहना कसरी अमेरिका पुग्यो त?

घटना विसं २०२७ तिरको हो।

“मेरो बुवा केशवमान कर्माचार्य त्यतिखेर तलेजुको मूलपुजारी हुनुहुन्थ्यो। एक्कासि राजदरबार, अञ्चलाधीश कार्यालय, विशेष प्रहरी र गुठीका मानिसहरूको टोलीले लगतजाँच भनेर तलेजुमा चढाइएका सामानहरूको लेखाजोखा गर्न थाले र लिएर गए,” तलेजु मन्दिरका वर्तमान मूलपुजारी उद्धव कर्माचार्यले भने।

उतिबेला बुवालाई केही महिना थुनछेक समेत गरेर पूजा गर्न पनि नदिईकन सामान हनुमान्‌ढोकाकै मूलचोकमा लगेर राखिएको भन्ने बताइएको उनी सम्झन्छन्।

त्यसरी लगिएका ‘३०० वटाजति’ गरगहना र सामानमा तलेजु भवानीको कण्ठहार पनि रहेको उनले बताए।सत्रौँ शताब्दीमा राजा प्रताप मल्लले ‘राष्ट्रकी देवी’लाई उक्त आभूषण चढाएका थिए।

BBC
सत्ताइस सालमा मूलचोक लगिएको कण्ठीहार करिब तेत्तिस सालमा अमेरिकामा देखा पर्‍यो। मेरो विचारमा नेपालबाट एकतीस वा बत्तीस सालमा त्यो चोरी भएको हुनुपर्छ।
उद्धव कर्माचार्य
मूल पुजारी, तलेजु मन्दिर

“सत्ताइस सालमा मूलचोक लगिएको कण्ठहार करिब २०३३ सालमा अमेरिकामा देखा पर्‍यो। मेरो विचारमा नेपालबाट २०३१ वा २०३२ सालमा त्यो चोरी भएको हुनुपर्छ। अट्ठाइस सालमा महेन्द्र राजा स्वर्गे भए अनि त्यसपछि वीरेन्द्रको राज्याभिषेक भयो। यही बीचमा चोरिएको हुनुपर्छ,” कर्माचार्यले भने।

मूलचोकमा राखिएको ढुकुटीको बाकस खोल्न पाँचवटा साँचो आवश्यक पर्ने र त्यो पाँचथरी अधिकारीलाई दिने गरिएको पनि उनले बताए।

“त्यहाँबाट चोर्न पाँचथरी साँचो जुटाउन सक्ने प्रभाव भएकोले मात्र सक्ने देखिन्छ।”

तलेजु मन्दिर
तस्बिरको क्याप्शन, काठमाण्डूमा तलेजु भवानीको मन्दिर हनुमान्‌ढोका दरबारको उत्तरपट्टि छ

हारको फिर्ती किन महत्त्वपूर्ण

नेपालबाट हजारौँ कलावस्तुहरू चोरी भएर विदेश पुगेका छन्। तीमध्येको एउटा तलेजु भवानीको कण्ठहार पाँच दशकदेखि विदेशी सङ्ग्रहालयमा छ।

नेपाली अभियानकर्मी एवं अधिकारीहरूले काठमाण्डू उपत्यकाको एउटा महत्त्वपूर्ण र भव्य मन्दिरमा त्यतिकै प्रसिद्ध र प्रतापी मानिएका राजाले चढाएको उक्त हार फिर्ताको आतुरतापूर्वक प्रतीक्षा गरिरहेका बताउँछन्।

सत्रौँ शताब्दीमा बहुमूल्य रत्नजडित र विभिन्न बुट्टा कुँदिएको सुनको जलप भएको उक्त हार राजा प्रताप मल्लले तलेजु भवानीलाई चढाएका थिए।

पुरानो काठमाण्डू राजदरबार क्षेत्रको महत्त्वपूर्ण भागमा अवस्थित तलेजुको मन्दिर बडादशैँको नवमीका दिन वर्षमा एक पटक मात्रै सर्वसाधारणका लागि खुला हुने गरेको छ।

भैरवको मुकुन्डो
तस्बिरको क्याप्शन, अमेरिकाको रुबेन म्यूजीअम अफ आर्टबाट फिर्ता आएको भैरवको मुकुन्डो अहिले राष्ट्रिय सङ्ग्रहालयमा छ

केही वर्षअगाडि आर्ट इन्स्टिट्यूट अफ शिकागोमा भ्रमण गर्ने क्रममा श्वेताज्ञानु बानियाँले त्यहाँ उक्त कण्ठहार प्रदर्शनीमा राखेको विषयमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि, उक्त हार फिर्ता ल्याउने अभियान तातेको थियो।

"यो एउटा यस्तो विषय बनेको छ जसले समुदाय र हामी अभियानकर्मीहरूलाई पनि तताएको छ,” नेपाल सम्पदा पुनर्स्थापना अभियानका सचिव सञ्जय अधिकारीले भने।

पुरातत्त्व विभागले पनि यो विषयमा उक्त अमेरिकी सङ्ग्रहालयसँग पत्राचार गरिरहेको विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन्।

तलेजुको हार फिर्तीको सफलताले अरू कलावस्तु फर्काउने प्रयासलाई धेरै बल पुग्ने धारणा अभियानकर्मी अधिकारीको छ।

“यसले कस्ता प्रमाण जुटाउने, कसरी र कहाँकहाँ पहल गर्नुपर्ने अनि सरकारी तहमा पनि कस्ता कदमहरू चालिनुपर्ने भन्ने हामीलाई सिकाउँदै छ,” उनले भने।

सौभाग्य प्रधानाङ्ग
BBC
त्यो सङ्ग्रहालयको उत्कृष्ट कृतिहरूमध्ये एउटा भएको हुनाले सायद उनीहरू (फर्काउन) अनिच्छुक छन्
सौभाग्य प्रधानाङ्ग
महानिर्देशक, पुरातत्व विभाग

अन्य देशले पनि चोरी वा अन्य विभिन्न गैरकानुनी कारणले विदेश पुगेका आफ्ना प्राचीन कलाकृति फिर्ता ल्याउन प्रयास गरेको देखिन्छ। भारतले ब्रिटेनबाट कोहिनूर हीरा फर्काउन लामो समयदेखि यत्न गरिरहेको छ।

तर अभियानकर्मी अधिकारी कोहिनूर हीराभन्दा नेपालका कलावस्तु फिर्तीको मर्म निकै फरक भएको मान्छन्।

“उनीहरूका लागि त्यो हीरा राष्ट्रिय गौरवसँग जोडिएको विषय होला, तर हाम्रा कलावस्तु कुनै सम्पत्ति वा इज्जतसँग होइन कि समुदायसँग प्रत्यक्ष जोडिएका छन्। हामीले ती मूर्ति वा ती कलाकृतिहरू गुमायौँ, हाम्रो समुदायले आफ्नो विश्वास गुमाएको र आफ्नो संरक्षक गुमाए जस्तो अनुभव गर्‍यो,” अधिकारीले भने।

"हामी तिनलाई सङ्ग्रहालयमा राखिएको देख्न चाहँदैनौं, हामी तिनलाई मन्दिर र समुदायहरूमा पुनर्स्थापित गर्न चाहन्छौँ जहाँबाट तिनलाई हठात् लगियो।"

कहाँ पुग्यो हार फिर्तीको विषय?

केही वर्षदेखि तलेजुको हार फिर्तीको प्रयासले गति लिइरहेको देखिन्छ तर अझ पनि आर्ट इन्स्टिट्यूट अफ शिकागोले फर्काइहाल्ने जबाफ दिएको छैन।उसले एकपछि अर्को प्रमाण देऊ भनिरहेको देखिन्छ।

“एकदम अनौठो के छ भने त्यो कण्ठहारमै कुँदिएर लेखिएको लाइनमा स्पष्ट हुन्छ कि यो प्रताप मल्ल राजाले भवानीमा चढाएका हुन्। त्यसमा ‘श्री श्री श्री भगवती देवी जननी जयति। स्वस्ति महाराजाधिराज श्री श्री राज राजेन्द्र कवीन्द्र जय प्रताप मल्ल देव स कथि जुरो शुभ’ भनेर लेखिएको छ,” अधिकारीले बताए।

उक्त हार फिर्ताको लागि अभियानकर्मी तथा पुरातत्त्व विभाग समेतले पत्राचार गर्दा सो सङ्ग्रहालयले प्रमाण मागेको थियो।

पछि तलेजु मन्दिरका मूलपुजारी उद्धव कर्माचार्यले पुरानो अभिलेख फेला पारे जसमा उक्त हार र त्यसको विवरण दुरुस्तै भेटियो।

“त्यसताका तलेजु मन्दिरमा पानी चुहिरहेको थियो। त्यतिखेर मैले बाकसहरू खोलेर हेर्दा किताब भेट्टाएँ। त्यसमा हरेक चिजको विवरण रहेछ। राजारानीहरूले के कति चढाएका थिए भन्ने रहेछ। तलेजु कण्ठहारमा जे लेखिएको छ, उक्त किताबमा पनि त्यही विवरण रहेछ,” कर्माचार्यले भने।

ती विवरणहरूसहित पुरातत्त्व विभागले पुन: सो अमेरिकी सङ्ग्रहालयमा पत्राचार गरेको विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग बताउँछिन्।

“हामीले वहाँहरूलाई दुई-तीन पटक ताकेता गरिसकेका छौँ। हामीसँग भएका अभिलेख पठाइसकेका छौँ। हाम्रो भनेर फर्काउन भनिरहेका छौँ,” उनले भनिन्।

तलेजु भवानीको मन्दिर
तस्बिरको क्याप्शन, काठमाण्डूको तलेजु मन्दिर वर्षको एक दिनमात्र सर्वसाधारणका निम्ति खुल्छ

तर किन उक्त सङ्ग्रहालयले हार फर्काउनको साटो प्रदर्शनमै राखिरहेको छ त? बीबीसीले सोधेको यो प्रश्नमा उक्त सङ्ग्रहालयका एक प्रवक्ताले लिखित उत्तर पठाएका छन्।

उनले “आफूहरु नेपाल सरकारसँग सम्पर्कमा रहेको र उक्त हारबारे थप जानकारीका लागि सन् २०२२ को मे महिनामा पत्र पठाएको” बताएका छन्।

“हामी अझै प्रतिक्रियाको पर्खाइमा छौँ। यस विषयमा सरकारले दिने कुनै पनि थप जानकारीको बारेमा जान्न हामी तयार छौँ र हामी नेपाल सरकारसँग सीधा सम्पर्कमा रहिरहने छौँ,” प्रवक्ताले भने।

विभागकी प्रमुख सौभाग्य प्रधानाङ्ग ठान्छिन्, "त्यो सङ्ग्रहालयको उत्कृष्ट कृतिहरूमध्ये एउटा भएको हुनाले सायद उनीहरू (फर्काउन) अनिच्छुक छन्,” उनले भनिन्।

अभियानकर्मी कनकमणि दीक्षित ढिलोचाँडो उक्त हार फर्कनेमा विश्वस्त छन्।

“हाम्रो चुनौती त के हो भने यति ठूलो अनुपातमा हाम्रा सम्पदा चोरी हुँदा पनि खै त टोलटोलमा यसलाई फिर्ता ल्याउन अभियानकर्मीहरू जागेको?” दीक्षितले भने।

कस्तो छ तलेजुको कण्ठहार?

अहिले आर्ट इन्स्टिट्यूट अफ शिकागोमा राखिएको उक्त आभूषणसँगै त्यसको विवरण पनि दिइएको छ।

उक्त विवरणमा भनिएको छ: "यो आभूषण राजा प्रताप मल्ल (शासनकाल: १६४१-७४), नेपालका मल्ल वंशका शासकले तलेजु भवानी, काठमाण्डूको पुरानो दरबारकी पूज्य इष्टदेवी तथा नेपाल र उसका राजपरिवारकी संरक्षिका देवीलाई दान गरेको हुन सक्छ। अनुष्ठानहरूमा सहभागी हुँदाखेरि सम्भवतः राजा प्रताप मल्लले पनि यो पहिरन्थे।"

सो विवरणअनुसार उक्त हारमा "मुख्य पाँचवटा लहर छन् अनि भित्री दुई लहर चाहिँ रुद्राक्षका दानाका लहरजस्ता" देखिन्छन्।

"सबभन्दा बाह्य लहरमा १३ वटा देवीका प्रतीक छन्। ती प्रत्येक महिषासुर वध गर्दै रहेकी दुर्गा देवीका रूपमा देखिन्छन्। राजाज्ञामा बनाइएको हुनाले यो कण्ठहारलाई उत्कृष्ट नेवार शिल्पीहरूले बनाएको हुनुपर्छ।"

सङ्ग्रहालयले राखेको विवरणअनुसार जुन २२, १९७६ (विसं २०३३ असार ९ गते) ब्रुस मिलर एन्टिक्वीटिज, ससालीटो, सीएद्वारा उक्त हार शिकागोस्थित एल्स्डोर्फ फाउन्डेशनलाई बिक्री गरिएको हो।

"जुलाई ८, १९७६ (विसं २०३३ असार २५ गते) उक्त कलावस्तुलाई सो सङ्ग्रहालयमा सापटीका रूपमा दिइएको हो र सन् २०१० मा आएर त्यसको स्वामित्व उक्त सङ्ग्रहालयमा हस्तान्तरण भएको हो।"

ती विवरण र प्राप्त अभिलेखले उक्त हार कहाँको हो भन्ने प्रष्ट पारे पनि अझै स्वदेश फिर्ता हुन नसक्नुका पछाडि देशभित्रैबाट अनि विदेशमा पनि अझ ठूलो स्तरमा प्रयत्न जारी राख्नुपर्ने अर्थमा अभियानकर्मीहरूले लिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।