जापानमा शक्तिशाली टाइफुन बज्रिएसँगै लाखौँ मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापान
    • Author, जेमी ह्वाइटहेड
    • Author, कोरुमी मोरी
    • Role, टोक्यो संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

शक्तिशाली टाइफुन 'डुजुआन'ले जापानका विभिन्न प्रान्तहरूमा असर पुर्‍याइरहँदा करिब २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न वा खाली गर्न आदेश दिइएको छ।

जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार यस टाइफुनका कारण दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन्। कानागावा प्रान्तमा पनि चार जना बेपत्ता भएको जनाइएको छ।

जापानको मौसम विज्ञान विभागले "तत्काल जीवनका लागि खतरा" भन्दै चेतावनी दिएको थियो। तर हाल मौसमसम्बन्धी केही चेतावनीहरूको स्तर घटाइएको छ।

तीव्र हावाहुरीका कारण ५० हजारभन्दा बढी मानिसकहाँ विद्युत् सेवा अवरुद्ध भएको छ भने सयौँ उडानहरू रद्द गरिएका छन् र रेल सेवाहरू पनि स्थगित गरिएका छन्।

डुजुआनमा प्रतिघण्टा १३० किलोमिटरको गतिमा निरन्तर हुरी चलेको छ भने हावाको झोक्काको गति १९४ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ।

यस समुद्री आँधी प्रशान्त क्षेत्रमा आएका आँधीहरूका शृङ्खलामध्ये पछिल्लो हो। 'सुपर एल निन्यो' का कारण यसको तीव्रता अझ बढेको छ र त्यसले महासागरको तापक्रम बढाएर आँधी सिर्जना हुने प्रक्रियालाई थप बल पुर्‍याएको छ।

अधिकारीहरूले सर्वसाधारणलाई मौसमसम्बन्धी जानकारीमा ध्यान दिन आग्रह गरेका छन्।

कैयौँ कार्यक्रम रद्द

जापान टाइफुन

जापानमा यस वर्षको २५औँ आँधीका रूपमा आएको 'डुजुआन' पाँच दिने बिदाको समयमा परेकाले कैयौँ कार्यक्रमहरू रद्द गरिएका छन्।

सोमवारका लागि तय गरिएका 'रक इन जापान' सङ्गीत महोत्सवमा कन्सर्टहरू रद्द गरिए। भिडियो गेमसम्बन्धी सम्मेलन 'टोक्यो गेम शो'ले पनि सोमवारको कार्यक्रम पनि रद्द भयो।

जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै आँधीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेकी छन् तर आफू पूर्वनिर्धारित योजनाअनुसार अमेरिकाको भ्रमणमा जाने बताइन्।

"तत्काल कदम चाल्नुपर्ने आवश्यकता महसुस गर्दै मैले चीफ क्याबिनेट सेक्रेटरी ताकेहारा र मन्त्री होसोनोलाई उच्च तयारीका साथ प्रतिकार्य गर्न निर्देशन दिएँ," उनले अमेरिकाका लागि उड्नु अघि लेखिन्।

न्युयोर्कमा मङ्गलवार उनले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै छिन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्दै छिन्।

मानवीय क्षति

जापान टाइफुन

योकोसुका सहरको दमकल कार्यालयले बीबीसीलाई बताएअनुसार एक घरमा बस्ने ६० वर्षको हाराहारी उमेरकी एक महिला बगेर गएको र जीवितै पुरिएको हुन सक्ने आशङ्का गरिएको थियो।

उद्धार टोलीले गरेको खोजीपछि उनलाई घरभित्रै फेला पारिएको र मृत घोषित गरिएको एनएचकेले जनाएको छ।

अर्को घटनामा चिबा प्रिफेक्चरस्थित सोदेगाउरा सहरको दमकल कार्यालयले बीबीसीलाई बताएअनुसार पहिरो गएको स्थानमा भग्नावशेष हटाउने क्रममा फसेका करिब ५० वर्षका एक पुरुषलाई बाहिर निकालिएको थियो।

उक्त कार्यालयका अनुसार ती श्रमिक भारी मसिनरीसहित बाँसको झ्याङमा खसेका थिए। स्थानीय समाचारहरूका अनुसार अस्पताल पुर्‍याइएपछि उनको मृत्युको पुष्टि गरिएको थियो। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

कानागावा प्रिफेक्चरका अग्नि नियन्त्रकहरूले एक पुरुषको फोन आएको बताउँदै त्यसमा उनले पहिरोका कारण आफ्नो घर थिचिएको जानकारी दिएका थिए।

जापानमा जोखिम बढ्ता हो?

जापान टाइफुन

केही अनुसन्धानहरूले जापान विनाशकारी आँधीहरूको जोखिममा बढी पर्न थालेको देखाउँछ।

यद्यपि, जलवायु परिवर्तनले विश्वव्यापी रूपमा यस्ता आँधीहरूको सङ्ख्या बढाइरहेको मानिँदैन र यसले केही क्षेत्रमा ती अझ कम गराउन पनि सक्छन्।

तर तापक्रम बढ्दै जाँदा उत्पन्न हुने टाइफुनहरू औसतमा अझ शक्तिशाली हुने सम्भावना हुन्छ। समुद्रको पानी तातो हुनुको अर्थ आँधीले बढी ऊर्जा सञ्चय गर्न सक्नु हो जसले गर्दा हावाको गति तीव्र हुन्छ।

साथै तातो वायुमण्डलले बढी आर्द्रता धान्न सक्ने भएकाले यस्ता आँधीहरूले भारी वर्षा पनि गराउन सक्छन्।

यस वर्ष 'एल निन्यो' भनिने प्रशान्त महासागरका केही भागमा न्यानो पानी ल्याउने प्राकृतिक मौसमी घटना अर्को एउटा कारक बनेको छ।

'एल निन्यो'ले टाइफुनको कुल सङ्ख्यामा स्पष्ट प्रभाव नपारे तापनि यसले टाइफुनको उत्पत्ति हुने स्थान, तिनको शक्ति र तिनले कुन-कुन देशमा असर पार्छन् भन्ने कुरामा भने प्रभाव पार्न सक्छ।

उदाहरणका लागि 'एल निन्यो'का केही घटनाहरूले जापानलाई अझ शक्तिशाली टाइफुनको जोखिममा पार्न सक्छन्। उक्त टाइफुन देशको प्रशान्त तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढिरहेको छ।

चिई कोबायाशी र जलवायुसम्बन्धी समाचारदाता मार्क पोइन्टिङको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।