ट्रम्पले पुन: सञ्चालन गर्न आदेश दिएको अमेरिकाको कुख्यात जेल यस्तो

आल्काट्राज जेल
तस्बिरको क्याप्शन, हलिवुड चलचित्रहरूका कारण पनि आल्काट्राज जेल निकै चर्चित थियो
    • Author, गाब्रिएला पोमरोए
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारि रहेको टापुमा अवस्थित पुरानो जेल आल्काट्राजलाई पुन: सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको उल्लेख गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले "लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको" बताए।

आल्काट्राजको पुन: सञ्चालनले "कानुन, व्यवस्था र न्यायको प्रतीक"को काम गर्ने उनले बताए।

"म आज ब्यू रो अफ प्रिजन, न्याय मन्त्रालय, सङ्घीय जाँच ब्यूरो तथा होमल्यान्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित आल्काट्राजलाई पुन: सञ्चालनमा ल्याउन निर्देश दिँदै छु," ट्रम्पले भनेका छन्।

उक्त जेलमा "अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ।"

आपराधिक गुटका आरोपित सदस्यहरूलाई एल साल्भाडोरका जेलमा पठाउने नीतिका कारण राष्ट्रपति ट्रम्प र अदालतबीच टकराब भइरहेको छ। मार्चमा उनले भेनेजुएलाली गुटका २ सयभन्दा धेरै आरोपित सदस्यहरूलाई त्यहाँ पठाइदिएका थिए।

देशभित्रका अपराधीलाई समेत विदेशी जेलमा पठाइदिने टिप्पणी उनले गर्ने गरेका छन्।

के हो आल्काट्राज जेल?

क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को सहरस्थित गोल्डन गेट ब्रिज नजिकै सानो टापुमा रहेको आल्काट्राज जेल सन् १९६३ मै बन्द गरिएको थियो।

अहिले उक्त स्थल पर्यटकीय आकर्षणको रूपमा रहेको छ।

सुरुमा नौसैनिक सुरक्षा किल्लाको रूपमा रहेको आल्काट्राजलाई बीसौँ शताब्दीको प्रारम्भमा पुनर्निर्माण गरियो र एक सैन्य कारागारका रूपमा स्थापित गरियो।

सन् १९३०को दशक ताका उक्त जेलको सञ्चालनको जिम्मा न्याय मन्त्रालयले लिएको थियो र उसले सङ्घीय कारागारमा रहेका दोषीहरूलाई त्यहाँ राख्न थालेको थियो।

उक्त जेलका केही कुख्यात बन्दीहरूमा ग्याङ्गस्टर अल क्यापोन, मिकी कोहेन र जोर्ज 'मेशिन गन' केली थिए।

निकोलस केज
तस्बिरको क्याप्शन, आल्काट्राज टापुमा आधारित चलचित्र 'द रक'मा अभिनेता निकोलस केज

सन् १९६२ मा बनेको बर्ट ल्याङ्क्यास्टर अभिनीत चलचित्र 'बर्डम्यान अफ आल्काट्राज'ले सो जेल झन् चर्चित बन्यो।

उक्त चलचित्र हत्यामा दोषी ठहर भएका रोबर्ट स्ट्रडको कहानीमा आधारित थियो जसले उक्त जेलमा आजीवन कारावासको सजाय भोग्दै गर्दा चराहरूको अवलोकनमा रुचि राखे र कालान्तरमा एक चरा विज्ञ बन्न पुगे।

त्यस्तै सन् १९९६ को चलचित्र 'द रक' पनि त्यहीँ छायाङ्कन गरिएको थियो। सन कनरी र निकोलस केजले एक पूर्व एसएएस क्याप्टेन र एफबीआईका रसायनविद्को भूमिका खेलेका उक्त चलचित्रमा आल्काट्राज टापुबाट उद्धार गरिएको कहानी छ।

तर सञ्चालन गर्न निकै महँगो भएकाले सो जेल बन्द गरिएको सङ्घीय जेल ब्यूरोको वेबसाइटमा उल्लेख गरिएको छ।

छुट्टै टापुमा रहेकाले अन्य सङ्घीय जेलको तुलनामा त्यसको सञ्चालन खर्च तीन गुना धेरै भएको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।