लडाइँ चर्किएपछि जहाँ ‘सडकमा कुकुरले शव खाएको' देखिन्छ

खार्टूम
Published

चेतावनीः यो समाचारमा संवेदनशील सामग्री छन्।

*सुरक्षाका लागि नाम परिवर्तन गरिएको छ।

लडाइँका कारण स्वास्थ्य पूर्वाधारहरू ध्वस्त भएपछि थुप्रै सुडानीहरू आफ्ना घर अथवा छरछिमेकमा शवहरू गाड्न बाध्य भएका छन्।

सुडानको राजधानी खार्टूममा भीषण लडाइँ भइरहँदा आफूले घरहरूका ढोकादेखि केही मिटर मात्र पर कम्तीमा २० वटा शव गाडेको ओमार* बताउँछन्।

घरको अगाडिको ढोका खोल्दा भुस्याहा कुकुरले शवका टुक्राहरू खाँदै गरेको देख्नु एकदम अस्वाभाविक कुरा भएको उनी बताउँछन्।

“मैले तीन जनालाई उनीहरूकै घरभित्र गाडेको छु भने बाँकीलाई सडकमा निस्किने छेउमा गाडेको छु,” उनी भन्छन्।

“मेरा एक छिमेकी आफ्नै घरभित्र मारिए। मैले अरू केही गर्न सक्ने अवस्था नभएर घरभित्र भुइँका टायल उप्काएँ, चिहान खनेँ र उनलाई गाडिदिएँ,” ओमारले थपे।

खार्टूममा एक सैनिकको शव
तस्बिरको क्याप्शन, खार्टूमका सडकमा मृत सैनिकहरूको शव देखिन्छ

‘सबैतिर चिहानस्थल’

सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसबीच युद्धविराम आउँदै जाँदै गर्दा निसाानेबाजहरू छतमा बसिरहेका हुन्छन्।

हिंसा जारी रहँदा ओमार र अरू मानिसहरू चिहानसम्म शवहरू पुर्‍याउन सकिरहेका छैनन्।

“शवहरू गर्मीमा कुहिरहेका छन्। म के नै भन्न सक्छु र? खार्टूममा मेरो छरछिमेक चिहानस्थलमा परिणत हुँदैछ,” उनी भन्छन्।तीन साताअघि ओमारले खार्टूमको अल इम्तिदाद जिल्लास्थित आफ्नो घरभन्दा केही मिटर पर सडकमा असरल्ल चारवटा शवका लागि चिहान खने।

उनका अनुसार छरछिमेका केही मान्छेले पनि त्यस्तै गर्नुपरेको छ।

“मारिएकामध्ये धेरै चाहिँ सेद्दोन इन्धन केन्द्रनजिकै पर्ने खार्टूम विश्वविद्यालय आसपासका क्षेत्रमा गाडिएका छन्। अरू शवहरू मोहम्मद नगुइब रोडनजिक गाडिएका छन्।”

घरभित्र अथवा छरछिमेकमा गाडिएका शवको सङ्ख्याबारे आधिकारिक विवरण त छैन, तर ओमार भन्छन्, “दर्जनौँ हुनसक्छ।”

घर वा घर हाताभित्रै चिहान खन्ने गरिएको छ
तस्बिरको क्याप्शन, घर वा घर हाताभित्रै चिहान खन्ने गरिएको छ

सैनिकका शव

हमिदले* पनि त्यस्तै झेलेका छन्।

खार्टूमबाट १२ किलोमिटर पर शाम्बत जिल्लामा सेनाको एउटा विमान दुर्घटनामा परेपछि त्यसमा परेर ज्यान गुमाएका तीन सैनिकका शव गाडेको उनले बीबीसीलाई बताए।

“संयोगवश म त्यहीँ क्षेत्रमा थिएँ। पाँच जनाको समूह र म मिलेर भग्नावशेषबाट शव निकाल्यौँ र शाम्बतमा वरपर घरहरू भएको क्षेत्रमा गाड्यौँ।”

सो क्षेत्रमा २० वर्षदेखि बस्दै आएका घरजग्गा व्यवसायीको विचारमा शव जतिसक्दो चाँडो गाड्नु “दयाको काम” हो।

“शव हामी कता गाड्छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन। गाड्नु चाहिँ प्राथमिकता हो,” उनी भन्छन्।

“त्यो दान गर्ने कामजस्तै हो। चिहानस्थलसम्म लग्दा कैयौँ दिन लाग्न सक्छ र सशस्त्र सैनिकहरू फेरि जताततै हुन्छन्।”

“स्वास्थ्य क्षेत्रमा सङ्कट नआओस् भनेर हामी समाजलाई सघाउने प्रयासमा छौँ। यदि शवहरूलाई असरल्ल छोडिदियौँ भने शवहरू गर्मीले कुहिन्छन् र भुस्याहा कुकुर त्यो खान्छन्। शवहरू गाड्नु हाम्रो धार्मिक र नैतिक कर्तव्य हो।”

“एकदमै जलेका शव” का दृश्यहरू अझै आफ्नो मस्तिष्कमा आइरहेको भन्दै हमिदले तीनवटा शव गाडेको केही दिन पछिसम्म विचलित भएको बताए।

“म निदाउन सकिरहेको थिइनँ र दिनमा एकपल्ट मात्र खान सकिरहेको थिएँ।”

‘सत्य दबिन सक्ने’

तर चिकित्सक युनियनका प्रमुखले मरेका मानिसहरूलाई उनीहरूकै घरमा र सार्वजनिक स्थलमा गाड्ने कामको आलोचना गरेका छन्।

प्रिलिमिनरी कमिटी अफ सुडान डक्टर्स ट्रेड युनियनका महासचिव डा. आत्तिआ अब्दुल्लाह आत्तिआले त्यसरी गाड्नुलाई “अपरिपक्व” भन्दै त्यसले सत्य छायामा पर्न सक्ने चेतावनी दिएका छन्।

डा. आत्तिआ अब्दुल्लाह आत्तिआ
तस्बिरको क्याप्शन, डा. आत्तिआ अब्दुल्लाह आत्तिआ

बेवारिसे शवहरू घरमा र छरछिमेकमा गाड्दा त्यसबाट मृत्यु कसरी भयो भन्ने प्रमाण हराउन सक्ने उनको तर्क छ।

“युद्ध सकिएपछि प्रश्नहरू अगाडि आउने छन् - मृत्युको कारण के थियो? मारिएकाहरू को थिए? को लुटपाटका क्रममा मारिए र को जातीय कारणले मारिए? यसले हामीलाई गृहयुद्धको अवस्थामा पुर्‍याउन सक्छ। उत्तरहरू मृतकसँग पुरिने छन्।”

शवहरूको पहिचान गरिनुपर्ने र तिनीहरूलाई समयमै अनि सम्मानित तरिकाले गाड्नुपर्ने डा. आत्तिआ बताउँछन्।

शवहरू गाड्ने काम स्वास्थ्य अधिकारीहरू, रेडक्रस र सुडानी रेडक्रेसन्टलाई छोड्नुपर्नेमा उनको जोड छ।

रेड लाइन
रेड लाइन

अन्तर्राष्ट्रिय दबाव

विधिले काम नै गर्न सक्ने अवस्था नभएका बेला ती कुराहरूले कसरी काम गर्ला भन्ने बीबीसीको जिज्ञासामा उनी विदेशी मुलुकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउँछन्।

“युद्ध रोक्नका निम्ति द्वन्द्वरत पक्षहरूमाथि थप अन्तर्राष्ट्रिय दबाव हुनुपर्छ। यो महत्त्वपूर्ण कुरा हो। हामीले सारा दोष रेडक्रस र रेड क्रेसन्टमाथि लगाउनु हुँदैन।”

सडक लगायतका ठाउँबाट अवशेष हटाउन सकिएको छैन
तस्बिरको क्याप्शन, सडक लगायतका ठाउँबाट अवशेष हटाउन सकिएको छैन

स्वयंसेवकद्वय ओमार र हमिद भविष्यमा मृतकको पहिचानमा सहयोग पुगोस् भनेर शवहरू गाड्नुअघि अनुहार एवं शरीरका तस्बिर खिच्ने गरेको बताउँछन्।

तर डा. आत्तिआ त्यसरी गाड्दा त्यसको कानुनी आधारमाथि प्रश्न उठ्न सक्ने बताउँछन्।

खार्टूममा एउटा ट्याङ्क
तस्बिरको क्याप्शन, युद्धविराम पटकपटक भङ्ग हुने गरेको छ

“त्यसरी शवहरू गाड्न अथवा ती ठाउँमा गाड्न उनीहरूलाई कसैले अनुमति दिएका होइनन् र सरकारी निकायबाट मृत्युदर्ता भएका छैनन्। त्यहाँ कानुन प्रश्न छ।”

असुरक्षित रूपमा शवहरू गाड्दा रोग पनि फैलिन सक्नेबारे उनी चिन्ता व्यक्त गर्छन्।

तर हमिद भन्छन्, "अधिकांश सुडानीहरूलाई शव गाड्ने सही तरिका थाहा छ जहाँ शवहरू कम्तीमा एक मिटर गहिराइमा गाड्ने गरिन्छ।"

व्यवस्थित रूपमा शवहरू गाड्ने केही प्रयास जारी छ।

सडकबाट शवहरू हटाउने कामका लागि अहमद रेडक्रसमा स्वयंसेवा गर्छन्।

रेड लाइन
रेड लाइन

‘एक मात्र समाधान’

डा. आत्तिआले आलोचना गरिरहँदा स्वास्थ्य पूर्वाधारहरू काम गर्ने अवस्थामा नरहेका आफूहरूसँग विकल्प नभएको मानिसहरूलाई लाग्छ।

मे ११ तारिखमा दुई सुडानी चिकित्सकहरू माग्डोलिन र मगदा युसेफ गलीको शव उनीहरूकै बगैँचामा गाड्दै गरिएका भिडिओहरू सामाजिक सञ्जालमा आएका थिए।

स्वयंसेवकहरूले दुईजना चिकित्सकका शव गाड्दै गरेको दृश्य
तस्बिरको क्याप्शन, स्वयंसेवकहरूले दुई चिकित्सकका शव गाड्दै गरेको दृश्य

आफ्ना दिदीहरूका शव घरभित्र गाड्नु “एक मात्र विकल्प” भएको उनीहरूका भाइले बीबीसीसँग भिडिओ कुराकानीमा भने।

सुडान डक्टर्स ट्रेड युनियनका अनुसार मे २८ तारिखमा कम्तीमा ८६५ जनाको ज्यान गएको थियो।

डा. माग्डोलिनको फाइल तस्बिर
तस्बिरको क्याप्शन, डा. माग्डोलिनको फाइल तस्बिर

राजधानीस्थित आधिकारिकता नभएका अरू चिहानस्थललाई पनि समेट्ने हो भने हताहत भएका मानिसहरूको सङ्ख्या अझ बढ्न सक्छ।

अन्तिम संस्कारका लागि शवहरू चिहानस्थलसम्म पुर्‍याउनका निम्ति स्वास्थ्य अधिकारीहरू रेडक्रससँग मिलेर काम गरिरहेका छन्।