भारत,अमेरिका,चीन र यूकेसँग नेपालले कस्तो सैन्य अभ्यास गर्छ?

सूर्यकिरण सैन्य अभ्यास भारत र नेपालमा आलोपालो आयोजना गरिन्छ
तस्बिरको क्याप्शन, सूर्यकिरणको यसअघिको संस्करण भारतको उत्तराखण्डमा आयोजना गरिएको थियो
    • Author, फणीन्द्र दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published

नेपाली र भारतीय सेनाबीच सन् २०११ देखि जारी सूर्यकिरण नामक संयुक्त सैन्य अभ्यासले दुवै देशबीचको रक्षा सम्बन्धलाई थप अभिवृद्धि गर्ने अधिकारीहरूले बताएका छन्।

रुपन्देहीको सालझन्डीस्थित नेपाली सेनाको ब्याटल स्कुलमा शुक्रवारबाट सुरु भएको उक्त तालिममा नेपाल र भारतका ६६८ जना सैनिक सहभागी रहेको नेपाली सेनाले जनाएको छ।

यो संयुक्त अभ्यासमा विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारसहित प्रतिविद्रोह र प्रतिआतङ्कवाद जस्ता विषयवस्तु समावेश गरिएको नेपाली सेनाले जनाएको छ।

भारतबाहेक नेपाली सेनाले अमेरिका, चीन, यूके सहितका देशका सैनिकहरूसँग संयुक्त अभ्यास गर्दै आएको छ भने इजरेल सहितका कैयौँ देशसँग सैन्य सम्बन्ध राख्दै आएको छ।

सूर्यकिरण सैन्य अभ्यास के हो?

यो अभ्यास नेपाल र भारतमा आलोपालो गर्ने गरिन्छ
तस्बिरको क्याप्शन, यो अभ्यास नेपाल र भारतमा आलोपालो गर्ने गरिन्छ

सन् २०११ मा दुवै देशका ४०/४० जना सैनिक सहभागी गराएर सुरु भएको सूर्यकिरण सैन्य अभ्यास अन्तर्गत हालसम्म दुई देशका झन्डै ८ हजार सैनिकहरूले सहभागिता जनाइसकेका छन्।

सुरुमा प्रत्येक ६ महिनामा आयोजना हुने उक्त सैन्य अभ्यास हाल बर्सेनि सञ्चालन हुने गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले संयुक्त अभ्यासले दुवै देशबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र सेनाहरूबीचको समझदारीलाई थप अभिवृद्धि गर्ने विश्वास लिइएको जनाएको छ।

यो संयुक्त अभ्यास नेपाल र भारतमा आलोपालो हुने गरेको छ।

यसपाली सालझन्डीमा सुरु भएको सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ र भारतीय सेनाका ३३४ जना सदस्य सहभागी भइरहेका छन्।

सूर्यकिरण सैन्य अभ्यास अन्तर्गत हालसम्म करिब ८ हजार जनाले तालिम लिएका छन्
तस्बिरको क्याप्शन, सूर्यकिरण सैन्य अभ्यास अन्तर्गत हालसम्म करिब ८ हजार जनाले तालिम लिएका छन्

पुस १४ गतेसम्म चल्ने सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट भवानी दल बक्स गण र भारतको तर्फबाट फाइभ गोर्खा राईफल्स सहभागी भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

उसले भनेको छ, “संयुक्त राष्ट्र सङ्घको म्यान्डेट अनुसार पहाडी क्षेत्रमा जङ्गल युद्ध तथा आतङ्कवाद विरोधी अभियानमा मानवीय साहयता एवं विपद् प्रतिकार्यमा आपसी क्षमता अभिवृद्धि गर्नका लागि भारत र नेपालले प्रत्येक वर्ष सूर्यकिरण अभ्यासको आयोजना गर्छन्।”

उसका अनुसार यस्तो अभ्यासले रक्षा सहयोग र दुइपक्षीय सम्बन्धलाई बढवा दिनेछ।

नेपाली सेना
तस्बिरको क्याप्शन, नेपाल र भारतबीच सन् २०११ यता सूर्यकिरण सैन्य अभ्यास सुरु भएको हो

यसअघि १५ औँ संयुक्त अभ्यास गएको वर्षको सेप्टेम्बरमा उत्तराखण्डको पिथौरागढमा सम्पन्न भएको थियो।

त्यसबेला अभ्यास अन्तर्गत दुवै देशका सेनाहरूले एक अर्काका हतियार र उपकरणबारे अनि पर्वतीय भूगोलमा प्रतिआतङ्कवादसम्बन्धी रणनीति सञ्चालन गर्ने पद्धतिबारे ज्ञानको आदानप्रदान गरेको भारतीय सेनाले जनाएको थियो।

त्यसबाहेक दुवै देशका सैनिकहरूले लगातार ४८ घण्टासम्म प्रयोगात्मक अभ्यास पनि गरेका थिए।

नेपाल र भारतबीच कस्तो सैन्य सम्बन्ध छ?

नेपाल भारत सम्बन्ध

भारत नेपालको सबैभन्दा ठूलो रक्षा साझेदार हो र उसले नेपालका सुरक्षा निकायहरूलाई पेसागत तालिम, अस्त्र उपलब्ध गराउनुका साथै कतिपय पूर्वाधार निर्माणमा समेत सहयोग गरिरहेको छ। 

सन् १९५० को दशक यता नेपाल र भारतले एक अर्काका सेनाका प्रमुखलाई मानार्थ सेनाध्यक्षको सम्मान दिने गरेका छन्।

विक्रम सम्वत २००७ मा भारतीय सेनाका प्रमुख के एम करिअप्पालाई नेपाली सेनाका मानार्थ प्रधानसेनापति दिएर यो प्रचलन सुरु भएको थियो।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अघिल्लो वर्ष र भारतका स्थल सेनाध्यक्ष मनोज पांडेले यसै वर्षको सेप्टेम्बरमा उक्त सम्मान पाएका थिए।

नेपाली सेनाको एउटा अभिलेख अनुसार नेपाली सेनाका तत्कालीन सह-सेनानी शेखर सिंह बस्न्यातले सन् १९८८-८९ मा भारतमा इन्जिनियर अफिसर्स डिग्री इन्जिनियरिङ सम्बन्धी तालिम लिएसँगै औपचारिक तालिम आदानप्रदान अघि बढेको थियो।

त्यसता अधिकृत र माथिल्लो दर्जाका झन्डै २५ सय र सिपाहीसहित अन्य दर्जाका १४०० सैनिकले भारतमा सञ्चालन भएका विभिन्न तालिममा भाग लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाल र भारतका सेनाबीच एक अर्काका सेनाप्रमुखलाई मानार्थ सेनाध्यक्षको सम्मान दिने अभ्यास छ
तस्बिरको क्याप्शन, नेपाल र भारतका सेनाबीच एक अर्काका सेनाप्रमुखलाई मानार्थ सेनाध्यक्षको सम्मान दिने अभ्यास छ

नेपाली सेनामा माथिल्लो दर्जाहरूमा पुग्न अनिवार्य रहेको न्याश्नल डिफेन्स कोर्समा सन् १९९२ बाट हालसम्म ३३ जना वरिष्ठ सैनिक अधिकारीले तालिम लिएको र चार जना तालिमरत रहेको बताइन्छ।

नेपाली सेनाका प्रधानसेनापति शर्माले पनि भारतबाटै एनडीसी गरेका हुन्।

नेपाली सेनाका अनुसार उसका विभिन्न शिक्षण संस्था तथा तालिम केन्द्रहरूमा सञ्चालन गरिएका विभिन्न तालिममा सन् १९९५ देखि ६० जना भारतीय सेनाका अधिकृतहरूले सहभागिता जनाएका छन्।

त्यसमा मुस्ताङको हिमाली क्षेत्रमा सञ्चालन हुने गरेको हाइ अल्टिच्युड एण्ड माउण्टेन वारफेयर तालिम तथा काठमाण्डूको शिवपुरीमा आयोजना हुने गरेको कमाण्ड एण्ड स्टाफ तालिम पनि पर्छन्।

संयुक्त राज्य अमेरिकासँगका सैन्य अभ्यास

नेपाली सेना र अमेरिकी सेना
तस्बिरको क्याप्शन, अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा मद्दत गर्दै आएको छ

नेपाली सेनाले अमेरिकी सेनासँग प्रतिआतङ्कवाद, मानव अधिकार कानुन,  मानवीय सहायता तथा विपद् राहत अभ्यास सम्बन्धी संयुक्त अभ्यास र तालिम गर्ने गरेको छ।

यी तालिम मुख्य गरी नेपाली सेनाको शान्ति तालिमसम्बन्धी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, रेन्जर्स रेजिमेन्ट, बम डिस्पोजल युनिटसँग हुने गर्छन्।

त्यसबाहेक अमेरिकी वार कलेजहरूमा विभिन्न तहका कोर्सहरूका लागि समेत नेपाली सेनालाई वासिङ्टनले मद्दत गर्दै आएको छ।

यस वर्षको सुरुको एउटा आँकडाले नेपाली सेनाका सहायक रथी वा सो भन्दा माथिको दर्जाका ८६ अधिकृत मध्ये १० जनाले अमेरिकामा व्यावसायिक सैनिक शिक्षा हासिल गरेको उल्लेख गरेको छ।

नेपाली सेना र अमेरिकी सेनाबीच ‘एक्स-ब्यालेन्स नेल’ नामक सैन्य अभ्यास सन् २००३ बाट सुरु भएको थियो।

नेपाली सेना
तस्बिरको क्याप्शन, उच्च हिमाली भूगोलमा नेपाली र अमेरिकी सैनिकहरूले संयुक्त तालिम गर्ने गरेका छन्

उक्त एक महिने सैन्य अभ्यासको ३९ औँ संस्करण यसै वर्ष आयोजना हुँदासम्म जम्मा ३,७५७ शिक्षार्थीले त्यसमा सहभागिता जनाएको नेपाली सेनाले जनाएको छ।

त्यसबाहेक अमेरिकी सेनासँगको ‘एक्स-टिक नेल’ नामक संयुक्त अभ्यासमा सन् २०१० देखि सन् २०२१ सम्म ४४४ जनाले सहभागिता जनाएका थिए।

राष्ट्रसङ्घ र क्षेत्रीय शान्ति स्थापना कार्यलाई सहयोग गर्ने अमेरिकी सुरक्षा कार्यक्रम ग्लोबल पिस अपरेसन्स इनिसिएटिभ अन्तर्गत अमेरिकी इन्डो प्यासिफिक कमान्डसँग मिलेर शान्ति प्रयास नामक बहुराष्ट्रिय सैनिक अभ्यास पनि नेपालमा हुने गरेको छ।

उक्त अभ्यास अन्तर्गत २,००० भन्दा बढी सैनिकले तालिम लिएको बताइन्छ।

यसैबर्ष बीबीसीले गरेको एउटा अध्ययनले अमेरिकाको सहयोगमा पाँच वर्षमा नेपाली सेना र विभिन्न क्षेत्रमा कार्यरत झन्डै १४ सय जनाले सुरक्षासम्बन्धी तालिम लिएको देखाएको थियो।

चीनसँगको संयुक्त सैन्य अभ्यास

सन् २०१७ मा नेपाल र चीनले ‘सगरमाथा मैत्री’ सैन्य अभ्यास सुरु गरेको भएपनि पछिल्लो समयमा कोभिड महामारीका कारण त्यसले निरन्तरता पाउन सकेको छैन।

आतङ्कवाद र विपद् प्रतिकार्यमा केन्द्रित उक्त अभ्यासको पहिलो संस्करण नेपालमा भएको थियो र त्यो १० दिनसम्म चलेको थियो।

उक्त सैन्य अभ्यासको दोस्रो संस्करण भने सन् २०१८ मा चीनको सिचुआन प्रान्तमा आयोजना भएको थियो।

पहिलो र दोस्रो दुवै संस्करणका अभ्यासमा दुवै देशका १३/१३ जना सैनिक सहभागी थिए।

सन् २०१७ बाट नेपाल र चीनले संयुक्त सैन्य अभ्यास थालेका थिए
तस्बिरको क्याप्शन, सन् २०१७ बाट नेपाल र चीनले संयुक्त सैन्य अभ्यास थालेका थिए

नेपालमा सन् २०१९ मा आयोजना भएको तेस्रो सगरमाथा मैत्री अभ्यासमा १६/१६ जना शिक्षार्थी र उनीहरूलाई निर्देशन दिने ६/६ जनाको समूह सहभागी थियो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल कोभिड-१९ महामारीका कारण हाल उक्त अभ्यास रोकिएको भएपनि त्यसलाई निरन्तरता दिन गृहकार्य अघि बढाइसकिएको बताउँछन्।

चीन र नेपालबीचको संयुक्त सैन्य अभ्यासलाई नेपालमा रक्षा सम्बन्ध विस्तार गर्ने बेइजिङको सामरिक रणनीतिका रूपमा अर्थ लगाउने गरिएको छ।

ब्रिटेनसँगको सैन्य अभ्यास

ब्रिटिस सेनाको ‘एक्स क्याम्ब्रिएन पट्रोल’ भनिने वार्षिक अन्तर्राष्ट्रिय पट्रोलिङ (सैनिक गस्ती) अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखी सहभागिता जनाउँदै आएको छ।

विश्वभरका सैनिकहरूमाझ ‘ओलिम्पिक्स अफ पट्रोलिङ’ भनेर ख्याति कमाएको उक्त अभ्यासमा हालसम्म नेपाली सेनाका ६७ जनाले सहभागिता जनाएका छन्।

वेल्सको क्याम्ब्रिएन क्षेत्रको पहाडी भूभागमा आयोजना हुने उक्त प्रतिस्पर्धात्मक गस्तीमा नेपाली सेनाले हालसम्म दुई स्वर्ण र दुई रजत पदक जितेको छ।

नेपाली सेना

उक्त अभ्यासलाई विश्वकै सबैभन्दा कठिन पैदल गस्तीका रूपमा लिने गरिएको छ।

दुई दिनसम्ममा २२ केजी भन्दा बढी तौलका व्यक्तिगत कीट र उपकरण बोकेर ३७ माइलसम्मको यात्रा तय गर्नुपर्ने हुनाले ‘एक्स क्याम्ब्रिएन पट्रोल’ लाई शारीरिक र मानसिक रूपमा कठिन अभ्यास मान्ने गरिएको ब्रिटिस सेनाको वेबसाइटमा जनाइएको छ।

सात पटक उक्त अभ्यासमा सहभागिता जनाउँदा नेपालले एक बाहेक अन्य सबै अवसरमा कुनै न कुनै पदक प्राप्त गरेको छ।

दक्षिण एसियाली देशहरूसँगको सैन्य अभ्यास

नेपाली सेनाले हालैका वर्षहरूमा अन्य दक्षिण एसियाली देशहरूसँग पनि विभिन्न संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

उसले सन् २०१५ देखि सन् २०१८ का बीचमा श्रीलङ्काको सेनाले आयोजना गर्ने ‘एक्स कोमरेन्ट’ मा सहभागिता जनाएको थियो।

तीन संस्करणमा नेपाली सेनाका ३२ जना सैनिक सहभागी थिए।

पाकिस्तानसँग पनि दुई विभिन्न प्रकृतिका अभ्यासमा नेपाली सेनाले भाग लिएको छ।

त्यसमा ३५ जना नेपाली सैनिकले सहभागिता जनाएका थिए।

यसै वर्ष पाकिस्तानमा आयोजित खेलकुद सम्मिलित सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो।