इन्स्टाग्र्याममा भारतीय महिला किन जातका कुरा गर्दै छन्

शिवी दीक्षित भारत
तस्बिरको क्याप्शन, शिवी दीक्षित आफ्ना झन्डै डेढ लाख 'फलोअर'का लागि घरमै रील बनाउँछिन्
    • Author, दिव्या आर्या
    • Role, बीबीसी हिन्दी
  • Published

भारतका साना सहर तथा गाउँका युवा उमेरका महिलाहरूले सामाजिक सञ्जाल इन्स्टाग्र्याममा गर्वका साथ आफ्नो जातीय पहिचान बताइरहेका छन्। यसबाट उक्त प्ल्याटफर्म जातीय राजनीतिको नयाँ अखडा बन्दै गएजस्तो देखिन्छ।

बीबीसीले त्यस्ता सयवटा इन्स्टाग्र्याम खाताबारे अनुसन्धान गरेको छ र दर्जनौँ 'इन्फ्लुअन्सर'सँग कुरा गरी त्यो 'ट्रेन्ड' चल्नुको कारणबारे बुझ्ने प्रयत्न गरेको छ।

कालो पोसाक लगाएकी एक महिलामाथि क्यामरा केन्द्रित छ। राइफलको ट्रिगरमा औँला राखेकी ती महिलाले आकाशतिर राइफल सोझ्याएकी छन्।

“तिमी को हौ?” पछाडिबाट आवाज आउँछ। “हामी ब्राह्मण हौँ,” त्यसको जबाफ आउँछ। ती महिला मुस्काउँछिन्। त्यसपछि दुईवटा गोली चलेको आवाज आउँछ।

भारतमा जातव्यवस्था

माथिको दृश्य उत्तर प्रदेशकी २४ वर्षीया शिवी दीक्षितले बनाएका सयौँ रीलमध्ये एउटाबाट निकालिएको हो।

उनी आफ्ना डेढ लाख 'फलोअर'बीच ब्राह्मण जातिबारे छोटा भिडिओहरू शेअर गर्छिन्।

हिन्दू धर्ममा जातव्यवस्थाले गहिरो जरा गाडेको छ। यो व्यवस्था तीन हजार वर्ष पुरानो मानिन्छ।

उक्त व्यवस्थाअनुसार ब्राह्मण शीर्ष वरीयतामा पर्छन् भने (पहिला 'अछुत' भन्ने गरिएका) दलित सबैभन्दा पुच्छारमा पर्छन्।

हुन त भारतमा जातीय छुवाछूत दशकौँदेखि गैरकानुनी रहिआएको छ तर देशका २० करोड दलितहरू अझै सबैभन्दा सीमान्तकृत नागरिकमध्येमा पर्छन्।

सुधारका बावजुद देशका विभिन्न भागमा अहिले पनि जातको विषय दैनिक कुराकानीका क्रममा बलियोसँग आउने गरेको छ।

घरमा खिचिएका र दश लाख पटकभन्दा हेरिएका भिडिओमा दीक्षित ब्राह्मण जातिको “सर्वोच्चता”बारे कुरा गर्छिन् अनि अन्तरजातीय सम्बन्धको आलोचना गर्छिन्। उनी दलित सशक्तीकरणका राजनीतिक मुद्दा अस्वीकार गर्छिन्।

“ब्राह्मणहरू संस्कारमा हुर्केका हुन्छन्। मेरो परिवारमा सबैले कर्मकाण्ड गर्नुहुन्छ। म हाम्रा मूल्यमान्यतालाई फैलाउन चाहन्छु र हाम्रो समुदायबारे रहेका भ्रम हटाउन चाहन्छु,” भारतको उत्तरी सहर मेरठस्थित आफ्नो परिवारले बनाएको मन्दिरको छतमा बसेकी उनले मलाई सुनाइन्।

'सामाजिक सञ्जालको प्रजातान्त्रीकरण'

सामाजिक सञ्जाल
तस्बिरको क्याप्शन, सामाजिक सञ्जालले महिलाहरूलाई बोल्ने अवसर दिएको उनीहरूको भनाइ छ

आफ्नो जातिबारे नयाँ ढङ्गले बताउन इन्स्टाग्र्यामको प्रयोग गरिरहेका हजारौँ भारतीय महिलामध्ये दीक्षित पनि एक हुन्।

उनीहरूमध्ये अधिकांश साना सहर तथा गाउँका छन्।

भारतमा थोरै महिलाले मात्र पुरुषसरह सार्वजनिक रूपमा धर्म र जातिबारे कुरा गर्छन्। तर सामाजिक सञ्जालमा पहुँच भएपछि आफ्ना धारणा राख्न र पितृसत्तालाई चुनौती दिन सहज भएको उनीहरू बताउँछन्।

सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज (सीएसडीएस) ले सन् २०१४ देखि ०१९ सम्म गरेको एउटा अध्ययनअनुसार “खास गरी कम लेखपढ गरेका र ग्रामीण क्षेत्रमा बस्नेहरूबीच सामाजिक सञ्जालको प्रजातान्त्रीकरण” भएको छ।

प्रतिरोध

सिमी जाधव
तस्बिरको क्याप्शन, सीमी जाधवले ब्राह्मण महिलाहरूको प्रतिरोध गर्दै रील बनाउने गरेकी छन्

'प्रजातान्त्रीकरण' तथाकथित उच्च जातिका महिलाको हकमा मात्र नभई दलित महिलाको सवालमा पनि लागु भएको छ। उनीहरूले ब्राह्मण महिलाको प्रतिरोधमा जबाफी रीलहरू बनाउन थालेका छन्।

बाइस वर्षीया सौन्दर्यकर्मी सीमी मिलिन्द जाधवले इन्स्टाग्र्याममा आफ्नो नाम 'भीमाची शेरनी' अर्थात्‌ भीमराव अम्बेडकरकी 'सिंहिनी' राखेकी छन्।

अम्बेडकर भारतीय संविधानका निर्माता तथा दलित अगुवा नेता थिए। “म बाबा अम्बेडकरलाई बुवासरह मान्छु, अनि बुवाकी सिंहिनी छोरी भएँ नि त,” उनले भनिन्।

उच्च जातिका मानिसहरूले इन्स्टाग्र्याममार्फत्‌ "झुटा" समाचार र जानकारी शेअर गर्न थालेको देखेर आफूले रील बनाउन सुरु गरेको उनले बताइन्।

हामीले कुरा गरेकामध्ये अधिकांश महिलाहरूले चिनियाँ एप टिकटकबाट भिडिओ बनाउन थालेका बताएका छन्।

तर सन् २०२० मा भारतले टिकटकमा प्रतिबन्ध लगाएपछि उनीहरू इन्स्टाग्र्याममा आकर्षित भए।

'विभाजनको रेखा'

भारत
तस्बिरको क्याप्शन, भारतीय महिलाहरूमा इन्टाग्र्याम लोकप्रिय रहेको देखिन्छ

उनीहरूको रीलमा केही कुरा साझा हुन्छन्, जस्तो कि ‘आदर्श’ ब्राह्मण अथवा दलित पुरुषको व्याख्या अनि अन्तरजातीय बिहेको निन्दा।

प्यू रिसर्च सेन्टरले गरेको सन् २०१९-२०२० को एउटा अध्ययनअनुसार भारतमा ६० प्रतिशत मानिस अन्तरजातीय विवाह गर्न नहुने पक्षमा रहेको पाइयो।

ती इन्फ्लुअन्सरहरूले धार्मिक र सामाजिक विभाजनले कोरेका रेखालाई चर्चामा ल्याएको देखिएको छ।

ब्राह्मण महिलाहरू “हिन्दू राष्ट्र बनाउनका निम्ति” सघाउन ब्राह्मण तथा हिन्दूहरू एकजुट हुनुपर्ने कुरा गर्छन्।

अर्कोतर्फ जाधवजस्ता दलित महिलाहरू त्यसको विरोध गर्छन्। उनीहरूलाई लाग्छ कि त्यस्तो भए दलित समुदायले शिक्षा, रोजगारका अवसर एवं सम्मानपूर्ण जीवनयापनका लागि गरिएका सङ्घर्ष खेर जान सक्छन्।

सीएसडीसस्थित सहप्राध्यापक हिलाल अहमदका अनुसार यो प्रवृत्तिले महिलाहरू राजनीतिमा रुचि राख्दैनन् भन्ने बुझाइलाई गलत साबित गरेको छ।

“महिलाहरूले आफ्ना कुरा राख्ने माध्यम पाएर त्यसमार्फत्‌ आफ्ना धार्मिक एवं जातीय पहिचानबारे धारणा राख्नुलाई आश्चर्यको रूपमा मान्नु भएन,” बीबीसीसँग उनले भने।

तर गौरवको नाममा ती महिलाहरूले विद्यमान सामाजिक भेदभावलाई बढावा दिइरहेका सहप्राध्यापक अहमदको तर्क छ।

“यो विरोधाभासपूर्ण छ। एकातिर उनीहरू आफूलाई पीडित भन्छन् तर अर्कोतर्फ आफूहरूलाई कसैको डर नभएको बताउँछन्।”

उनीहरूले पोस्ट गर्ने कतिपय सामग्री उक्साहटपूर्ण पनि हुने गरेका पाइयो। बीबीसीले त्यस्ता केही भिडिओबारे जानकारी गराएपछि मेटाले तिनलाई हटायो।

मेटाका एक प्रवक्ताले भने, “हामीले हिंसाबारे धम्की दिने अथवा हिंसा भड्काउने सामग्री निषेध गरेका छौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।