कुवेतमा निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाइने नयाँ नियम, के नेपाली श्रमिकलाई फरक पर्ला?

नेपाल-कुवेत
तस्बिरको क्याप्शन, कुवेत प्रवासी नेपाली श्रमिकहरूका लागि एक प्रमुख गन्तव्य रहँदै आएको छ
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

कुवेत सरकारले त्यहाँ रहेका आप्रवासी घरेलु श्रमिकलगायतले भिसा परिवर्तन गरेर निजी क्षेत्रमा पनि काम गर्न पाउने निर्णय गरेपछि कतिपय नेपालीहरू त्यसबाट लाभान्वित हुन सक्ने ठानिएको छ।

उक्त व्यवस्थाबाट खास गरी घरेलु श्रमिकको भिसामा त्यहाँ पुगेर अन्य क्षेत्रमा काम गरिरहेका मानिसहरूलाई लाभ पुग्ने देखिएको गैरआवासीय नेपाली सङ्घ, कुवेतका एक जना पदाधिकारीले बीबीसीलाई बताएका छन्।

कुवेत सरकारको सो नयाँ नियम १४ जुलाईबाट कार्यान्वयनमा आउँदै छ।

तर त्यहाँस्थित नेपाली दूतावासका अधिकारीहरूले भिसाको वर्गीकरण परिवर्तन गर्न भिसा पाउँदाका बेला आफूलाई प्रायोजन गरेर लैजाने परिवारको अनुमति अनिवार्य पारिएकाले नेपाली घरेलु श्रमिकहरूलाई ठूलो फरक परिहाल्ने नदेखिएको बताउँछन्।

कुवेत सरकारले तय गरेका नियमहरूमा नेपालबाट जाँदाका हकमा दर्ता भएका रोजगारदाताकहाँ कम्तीमा एक वर्ष काम गरेकाहरू मात्र यस सुविधाका लागि योग्य हुनेछन्।

सो खाडी मुलुकमा त्यहाँको श्रम कानुनअनुसारको कार्यस्थल सार्ने प्रक्रियालाई गतिशील गराउने उद्देश्यका साथ उक्त नियम ल्याइएको त्यहाँको सरकारले जनाएको छ।

कसलाई असर पर्छ?

सन् २०२३ को अन्त्यमा सार्वजनिक विवरणअनुसार कुवेतमा १,०७,००० भन्दा धेरै नेपालीहरू कार्यरत छन्।

"त्यसमध्ये घरेलु श्रमिकको सङ्ख्या ३० हजारजति छ, र तीमध्येका ९५.३ प्रतिशत महिला कामदारहरू छन्," कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले भने।

कुवेतमा घरेलु श्रमिकका रूपमा नेपाली महिलाहरू प्रतिबन्धित भए तापनि हजारौँका सङ्ख्यामा गैरकानुनी बाटो हुँदै उनीहरू त्यहाँ पुगेका पाइन्छन्।

कुवेत
तस्बिरको क्याप्शन, कुवेतमा रहेका हजारौँ नेपालीहरू अवैध रूपमा बसोबास तथा काममा संलग्न रहेको बताइन्छ

"गैरकानुनी रूपमा कुवेत आइपुगे पनि कुवेतका लागि भने वहाँहरू वैधानिक कामदार हुन्। अनुमतिबिना आफ्ना प्रायोजकलाई छाडेमा मात्र उनीहरू गैरकानुनी मानिन्छन्," नेपाली दूतावासका गौतम भन्छन्।

"अहिलेको निर्णयअनुसार भिसाको वर्गीकरणलाई २० (घरेलु कामदार) बाट १८ (निजी क्षेत्र) मा सार्नका लागि रोजगारदाताको स्वीकृति चाहिन्छ, त्यो धेरैका हकमा सहजै पाइहाल्ने खालको देखिँदैन। त्यसैले नेपालीका लागि तात्त्विक अर्थ राख्दैन जस्तो लाग्छ।"

कुवेतमा आप्रवासी श्रमिकका रूपमा काम गर्नेहरूमा समेत कामको प्रकृतिअनुसार विभिन्न खाले भिसाको वर्गीकरण गरिएको हुन्छ।

गैरआवासीय नेपाली सङ्घ, कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रिन घरेलु कामदारको भिसा हुनेले समेत आफैँ जोखिम मोलेर अन्य क्षेत्रमा आकर्षक कमाइ गरिरहेको सुनाउँछन्।

"त्यसरी अन्यत्र काम गर्नेहरूले प्रायोजकहरूलाई उल्टै पैसा बुझाएर फरक क्षेत्रमा काम गरिरहेका छन्। यसबाट सबैभन्दा फाइदा लिन सक्नेहरू त्यस्ता व्यक्तिहरू हुन्।"

कुवेतमा कस्ता अवसर

वैदेशिक श्रम मामिलाका विज्ञ गणेश गुरुङ हरेकजसो घरमा घरेलु कामदारको माग रहेको कुवेतमा यस्तो व्यवस्था ल्याइनु सकारात्मक कदम भएको बताउँछन्।

"एउटै घरभित्र काम गर्दा दुईतीन वर्षमा स्वाभाविक रूपमै दिक्क भइन्छ। त्यसका कारण यस्तो व्यवस्था ल्याइनुलाई सुखद मान्नुपर्छ," गुरुङ भन्छन्।

घरेलु श्रमिकमा कुवेतमा अधिकांशजसो महिला छन्
तस्बिरको क्याप्शन, कुवेतमा घरेलु श्रमिकका रूपमा अधिकांशजसो महिला छन्

कुवेत सरकारले कैयौँ वर्षदेखि नेपाललाई घरेलु श्रमिकका रूपमा महिलाहरू ल्याउने व्यवस्था खुलाउन आग्रह गर्दै आएको अवस्थामा यस निर्णय आउनुलाई श्रमविज्ञ गुरुङ सकारात्मक मान्छन्।

"कुवेतीहरूले घरेलु कामदारका रूपमा जानेमध्ये फिलिपिन्स वा बाङ्लादेश वा अफ्रिकी श्रमिकको तुलनामा नेपालीलाई रुचाउने गरेको पाइन्छ," गुरुङ भन्छन्।

घरेलु श्रमबाहेक पछिल्लो समय कुवेत गएका नेपालीहरू सरसफाइका क्षेत्र, सुरक्षा गार्डको काम, निर्माण, सुपरमार्केटमा क्यासिअर तथा सेल्सपर्सनको काम, ब्यूटी पार्लर तथा रेस्टुराँमा पनि छन्।

घरेलु कामदारका रूपमा समेत घरको पर्खालभित्र मात्र काम गर्ने वा घरले तोकेको काम गर्ने गरी माली, भान्छे, बालबालिका र वृद्धहरूको स्याहार गर्नेहरू देखि ड्राइभरसम्म हुन्छन्।

यसअघि आममाफी पनि

यसअघि कुवेत सरकारले मार्चदेखि जुन महिनाको अवधिमा आपराधिक गतिविधिमा संलग्न भएकाबाहेकका अध्यागमन कानुन उल्लङ्घन गरेकालाई आममाफीको विशेष व्यवस्था लागु गर्दै जरिबाना मिनाहा गर्दै घर फर्किने अवसर दिएको थियो।

यसअघि सन् २०१६ मा कानुनी हैसियत गुमाएकाहरूलाई जरिवाना वा नवीकरण प्रक्रिया थालेर वैधानिक हुने अवसर प्रदान गरेको थियो।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमले भने, "त्यस क्रममा झन्डै तीन हजार नेपालीहरू आममाफी पाएका आधारमा नेपाली राजदूतावासबाट एकतर्फी यात्रा अनुमति पत्र लिएका थिए।"

संसद्को श्रम तथा उपभोक्ता हित समितिले विसं २०७३ चैत २० मा दिएको एक निर्देशनपछि सरकारले नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन बन्द गरेको थियो।

त्यसबेला संसदीय समितिले सुरक्षाको प्रत्याभूति नभई घरेलु कामदार नपठाउन निर्देशन दिएको थियो।

त्यसरी नेपाली महिलालाई श्रममा जान प्रतिबन्ध लगाइए तापनि उनीहरू समेत हजारौँको सङ्ख्यामा गैरकानुनी बाटो भएर पुगेको बताइएको छ।

"नेपाल सरकारले महिलालाई आउन रोकिरहेको भए पनि वहाँहरू विभिन्न बाटोबाट आइरहनु भएको छ," दूतावासका गौतम भन्छन्।

लामो समयदेखि कुवेत बसिरहेका नेपालीहरू उक्त देशलाई 'ट्रान्जिट' बनाएर ओमान, साउदी अरब र इराकसमेत जाने गरेको पनि बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।