‘जासुस ह्वेल’ रुसी सैनिक प्रशिक्षणबाट भागेको निष्कर्ष

समुद्रमा बलुगा ह्वेल
तस्बिरको क्याप्शन, पाँच वर्षअघि नर्वेको उत्तरी तटनजिकै माझीहरूसँग नजिकिन खोज्ने बलुगा ह्वेललाई धेरैले 'रुसी जासुस' भन्ठानेका थिए
    • Author, जोनाह फिशर, पर्यावरण संवाददाता
    • Role, ओक्साना कुन्डिरेन्को, विशेषज्ञ प्रोड्युसर, 'सीक्रेट्स अफ द स्पाई ह्वेल'
  • Published
  • पढ्ने समय: ५ मिनेट

पाँच वर्षअघि नर्वेको तटनजिकै पहिलो पटक शरीरमा एउटा पट्टीसहित देखा परेको बलुगा ह्वेल त्यहाँ कसरी पुग्यो भन्ने रहस्य खुलेको सङ्केत प्राप्त भएको छ।

स्थानीय बासिन्दाले "ह्वाल्दिमिर" नाम दिएको उक्त सेतो ह्वेल "रुसी जासुस" हुन सक्ने व्यापक अड्कलबाजी भएको थियो। त्यसबारे सञ्चारमाध्यममा ठूलो चर्चा भएको थियो।

एक जीववैज्ञानिकले वास्तवमा त्यो ह्वेलको सम्बन्ध भएको र 'आर्क्टिक सर्कल'स्थित जलसेनाको एउटा अखडाबाट भागेको हुन सक्ने निष्कर्ष निकालेकी छन्।

तर डा ओल्गा श्पाक उक्त ह्वेलले जासुसी गरेको ठान्दिनन्। उनका अनुसार जलसेनाको शिविरको पहरेदारीका लागि त्यसलाई प्रशिक्षित गरिँदै थियो तर "उच्छृङ्खल" भएकाले त्यो त्यहाँबाट भागेको हुनुपर्छ।

रुसले उक्त ह्वेललाई आफ्नो सेनाले प्रशिक्षण गर्न खोजेको हो कि हैन भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गर्दै आएको छ।

शरीरमा पट्टी बाँधिएको ह्वेल
तस्बिरको क्याप्शन, त्यो बलुगा ह्वेलको शरीरमा पट्टी बाँधिएको थियो

तर सन् १९९० को दशकदेखि सन् २०२२ मा आफ्नो देश युक्रेन फर्किनुअघिसम्म समुद्री स्तनपायी जीवबारे रुसमा अनुसन्धान गरेकी डा श्पाकले बीबीसी न्यूजसँग भनिन्, “मेरो लागि त्यो शतप्रतिशत (पक्का) हो।”

उनका साथी तथा रुसमा रहेका पूर्वसहकर्मीहरूसँगको कुराकानीमा आधारित डा श्पाकका विवरण बीबीसीको ‘सीक्रेट्स अफ दि स्पाई ह्वेल’ नामक वृत्तचित्रमा समेटिएको छ।

बीबीसी आईप्लेअरमा उपलब्ध उक्त वृत्तचित्र 'बीबीसी टू' मा बुधवार राति प्रसारित भयो।

सन् २०१९ मा नर्वेको उत्तरी तटनजिकै माझीहरूसँग नजिकिन खोज्दा उक्त रहस्यमय ह्वेल पहिलो पटक सार्वजनिक चासोको विषय बनेको थियो।

“त्यो ह्वेल डुङ्गामा जीउ रगड्न आयो,” माझीहरूमध्ये एक योआर हेस्टेनले भने।

“आफू समस्यामा पर्दा जनावरहरूले मानिसबाट सहायता खोज्ने कुरा मैले सुनेको थिएँ। मलाई यो त्यस्तै बुद्धिमान ह्वेल हो कि जस्तो लाग्यो।”

उक्त ह्वेलको टाउको मुनिको भागमा पट्टी बाँधिएको थियो। त्यसमा क्यामरा राख्ने ठाउँ थियो र अङ्ग्रेजीमा "सेन्ट पिटर्स्बर्गको उपकरण" लेखिएको थियो।

हेस्टेनले पट्टी फुकाल्न सहयोग गरे। त्यसपछि त्यो हामाफेस्ट बन्दरगाहनजिकै पानीमा गयो र कैयौँ महिनासम्म त्यहीँ बस्यो।

ह्वाल्दिमिर ह्वेलको पट्टीमा भएको एउटा क्लिपमा रुसी सहर 'सेन्ट पिटर्स्बर्ग' उल्लेख गरिएको थियो
तस्बिरको क्याप्शन, ह्वाल्दिमिर ह्वेलको पट्टीमा भएको एउटा क्लिपमा रुसी सहर 'सेन्ट पिटर्स्बर्ग' उल्लेख थियो

खानका लागि जिउँदा माछा समात्न ऊ असमर्थ रहेको स्पष्ट रूपमा देखिन्थ्यो। उसले आगन्तुकहरूका क्यामरालाई हल्का धक्का दिँदा उनीहरू रमाउँथे र एक पटक त त्यसले एउटा मोबाइल पनि फिर्ता दिएको थियो।

‍ “यो विशेष ह्वेललाई निसानाजस्तो देखिने वस्तुमा आफ्नो नाक राख्न तालिम दिइएको थियो एकदम स्पष्ट थियो। किनकि उसले प्रत्येक पटक त्यसो गर्थ्यो,” नर्वेजिअन ओर्का सर्भेमा कार्यरत अनुसन्धानकर्ता एभा युर्डाइनले भनिन्।

“तर ऊ कस्तो ठाउँमा थियो भन्ने कुरा हामीलाई थाहा छैन। त्यसैले उसलाई केका लागि प्रशिक्षित गरिएको थि भन्ने पनि हामीलाई थाहा भएन।"

ह्वेलको कथाबाट प्रभावित भएर नर्वेले बलुगाको निगरानी गर्ने तथा आहाराको व्यवस्था पनि मिलायो। त्यसलाई दिइएको नाम "ह्वाल्दिमिर" नर्वेली भाषामा ह्वेलका लागि प्रयोग हुने शब्द ‘ह्वाल’ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नामलाई मिसाएर राखिएको थियो।

डा ओल्गा श्पाकको तस्बिर
तस्बिरको क्याप्शन, डा. श्पाकका अनुसार आन्द्रुहा/ह्वाल्दिमिरलाई सुदूरपूर्वी रुसमा पर्ने 'सी अफ ओखोत्स्क'बाट पहिलो पटक नियन्त्रणमा लिइएको थियो

आफ्नै सुरक्षाका कारण पनि डा श्पाक रुसमा रहेका आफ्ना स्रोतहरूका नाम उल्लेख गर्न चाहँदिनन्। तर उनका अनुसार बलुगा नर्वेमा देखिनासाथ रुसले त्यो आफ्नो भएको बतायो।

“आन्द्रुहा नामक बलुगा हराइरहेको सन्देश पशुचिकित्सक तथा प्रशिक्षकहरूको सञ्जालमार्फत् आयो,” उनले भनिन्।

डा श्पाकका अनुसार आन्द्रुहा/ह्वाल्दिमिरलाई सुदूरपूर्वी रुसमा पर्ने 'सी अफ ओखोत्स्क'बाट पहिलो पटक नियन्त्रणमा लिइएको थियो।

त्यसको एक वर्षपछि सेन्ट पिटर्स्बर्गस्थित एउटा डल्फिन पालन केन्द्रबाट उसलाई रुसी आर्क्टिकमा सैनिक कार्यक्रमका लागि लगियो। उसका प्रशिक्षक तथा चिकित्सकहरू पनि सम्पर्कमा थिए।

“मलाई लाग्छ त्यसलाई विश्वास गरेर उनीहरूले खुला पानीमा राख्न गर्न थालेपछि उक्त जीवले आफूलाई त्यसैअनुसार रूपान्तरित गर्‍यो,” उनले भनिन्।

उनका अनुसार उक्त व्यावसायिक डल्फिन पालन केन्द्रमा काम गरेका एक व्यक्तिले बताएअनुसार आन्द्रुहा चलाख थियो।

समुद्रमा ह्वेल पालिएको ठाउँ
तस्बिरको क्याप्शन, समुद्रमा ह्वेल पालिएको ठाउँ देखाउने भूउपग्रहबाट प्राप्त तस्बिर

मर्मान्स्कस्थित रुसी जसलसेनाको शिविरनजिकको एउटा स्याटलाइट तस्बिरले त्यहाँ ह्वाल्दिमिर/आन्द्रुहाको पुरानो घर हुन सक्ने सङ्केत गर्छ।

“बलुगा ह्वेलहरू रहेका ठाउँ पनडुब्बी र पानीजहाजहरू भएको ठाउँबाट निकै नजिक देखिन्छ। त्यसले तिनीहरू खासमा सुरक्षा प्रणालीको भाग रहेको सङ्केत गर्छ,” नर्वेको नलाइन समाचार पत्रिका 'दि बारेन्ट्स अब्जर्भर'का टोमस निल्सेन भन्छन्।

रुसले कहिल्यै पनि औपचारिक रूपमा ह्वाल्दिमिर/आन्द्रुहालाई सेनाले प्रशिक्षण दिएको दाबीबारे बोलेको छैन।

तर समुद्री स्तनधारी जीवहरूलाई सैन्य प्रयोजनका लागि रुसले तालिम दिएको लामो इतिहास छ।

सन् २०१९ मा एक रुसी सैन्य अधिकारी भिक्टर बारानेटले भनेका थिएः “यदि हामीले यो जीवलाई जासुसीका निम्ति प्रयोग गरेका थियौँ भने के हामी त्यससँगै मोबाइल नम्बर राखेर फोन गर भन्छौँ भन्ने तपाईँको अपेक्षा हो?"

ह्वेल
तस्बिरको क्याप्शन, ह्वेलले कैयौँ वर्षसम्म यात्रा गरेको पाइएको छ

दुःखका साथ भन्नुपर्दा ह्वाल्दिमिर/आन्द्रुहाको अविश्वसनीय कथाको सुखान्त छैन।

आफैँले खान सिकेर उसले नर्वेको उत्तरी तटसम्म कैयौँ वर्ष यात्रा गर्‍यो र सन् २०२३ को मे महिनामा स्वीडनको तटनजिकै पुग्यो।

त्यसपछि सन् २०२४ को सेप्टेम्बर १ तारिखमा दक्षिणपश्चिमी नर्वेको रिसाभिका सहरनजिक समुद्रमा उसको शव समुद्रमा फेला पर्‍यो।

के रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात यो हठी बलुगासम्म पुग्यो होला त? त्यस्तो देखिँदैन।

कतिपय अभियानकर्मी समूहले उक्त ह्वेललाई गोली हानिएको हुन सक्ने दाबी गरेका थिए। तर नर्वेको प्रहरीले त्यसलाई अस्वीकार गरेको छ। उनीहरूका अनुसार मानिसको गतिविधिका कारण बलुगाको मृत्यु भएको कुनै सङ्केत पाइँदैन।

पोस्टमोर्टम रिपोर्टका अनुसार मुखमा एउटा लौरो अड्किएर ह्वाल्दिमिर/आन्द्रुहाको मृत्यु भएको देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।