हङ्‌कङमा भएको आगलागीमा मृतकको ९४ पुग्यो, अग्ला भवनमा सयौँ मानिस अझै बेपत्ता

आगो लागेको भवन भएको क्षेत्रमा मानिसहरू र सडकमा दमकलहरू
Published
पढ्ने समय: ४ मिनेट

हङ्‌कङमा कैयौँ अग्ला आवासीय भवनहरूमा फैलिएको विनाशकारी आगलागीका कारण ज्यान गुमाउनेको मानिसको सङ्ख्या बढेको छ।

हङ्‌कङको अग्निनियन्त्रक विभागलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरूले घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या ९४ पुगेको उल्लेख गरेका छन्।

समाचारअनुसार ७६ जना घाइते भएका छन्। जसमा १० जना अग्निनियन्त्रकहरू पनि छन्।

ती भवनहरूमा अझै केही मानिस फसेका छन् भने ३०० भन्दा बढी मानिसको अवस्था थाहा छैन।

विगत ७० वर्षयता त्यहाँ भएको आगलागीमध्ये यसलाई सबैभन्दा भीषण मानिएको छ।

सयौँ अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा लागेका छन्। वाङ्फुक कोर्टस्थित प्रभावित सातमध्ये चारवटा भवनमा आगो नियन्त्रणमा आइसकेको छ। आवासीय भवनहरू भएको उक्त क्षेत्रमा बुधवार दिउँसो आगो फैलिँदा मर्मतसम्भारको काम हुँदै थियो।

आगलागीको स्पष्ट कारण थाहा भइसकेको छैन। तर प्रहरीले ती भवनहरूबाहिर भएका वस्तुका कारण आगो चाँडै फैलिएको जनाएको छ। प्रहरीले निर्माण कम्पनीका तीन अधिकारीहरूलाई मनसायरहित हत्या र गम्भीर लापरबाही गरेको आशङ्कामा पक्राउ गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले "आगो निभाउन खटिएका एक अग्निनियन्त्रक" सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

मृतकमध्ये कम्तीमा दुई जना इन्डोनेशियाली कामदार भएको विवरण प्राप्त भएको छ।

आगलागीबाट विस्थापित भएका मानिसहरूलाई नजिकै रहेका आपत्कालीन आश्रयस्थलमा लगिएको छ।

आगो लाग्दा वाङ्फुक कोर्टमा कति मानिस थिए भन्ने अझै अस्पष्ट छ।

सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्टमन्ट थिए। तिनमा ४,६०० मानिसहरू बस्थे।

आगलागी भएको भवननजिकै अत्तालिएका एक मानिस चिच्याउँदै
आपत्कालीन आश्रयस्थल
तस्बिरको क्याप्शन, आगलागीबाट विस्थापित भएका मानिसहरूलाई आपत्कालीन आश्रयस्थलमा लगिएको छ

कसरी लाग्यो आगो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ हेर्नुहोस् : बिहान सबेरै आकाशबाट खिचिएको भिडिओ

बुधवार स्थानीय समयानुसार दिउँसो २ः५१ बजे जाँदा ताइ पो इलाकास्थित वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्न सुरु भएको थियो।

वाङ्फुक कोर्टमा आठ वटा ३१-३१ तलाका अग्ला भवनहरू थिए। तीमध्ये आगलागीका कारण सातवटा भवन प्रभावित भइसकेको ताइ पो डिस्ट्रिक्ट काउन्सिलर मुइ सिउ-फुङले बीबीसी चाइनिजलाई बताए।

सन् १९८३ मा बनाइएका ती भवनहरूमा मर्मत चलिरहेको थियो। भवनका बाहिरपट्टि बाँसका खटहरू थिए अनि तिनलाई हरियो जालीले छोपिएको थियो। भिडिओ फुटेजहरूमा बाँसहरूबाट आगो चाँडो फैलिएको देखिएको छ।

आगो निभाउन खटेका दमकल कर्मचारीहरू
भवनहरूमा आगलागी भएपछि मानिसहरूले सडकमा थुपारेको सामान
घाइतेलाई एम्बुलेन्सबाट निकालेर अस्पताल लगिँदै

केही सञ्चारमाध्यमहरूले त्यहाँका निवासीहरूलाई उद्धृत गर्दै जनाएअनुसार आगो लाग्नासाथ बज्नुपर्ने 'फायर अलार्म' बजेको थिएन।

एक प्रारम्भिक अनुसन्धानमा त्यसरी द्रुत गतिमा आगो फैलिनु अस्वाभाविक भनिएको हङ्‌कङका सुरक्षा अधिकारीले बिहीवार बिहान बताए। झ्यालहरूमा पोलिस्टिरिनको प्रयोग – जुन निकै ज्वलनशील हुन्छ – पनि यसको कारण भएको बताइएको छ।

हङ्‌कङको उत्तरी भागमा रहेको ताइ पो इलाका चिनियाँ मूलभूमिको शेन्जेन सहरनजिकै पर्छ।

आगो कति गम्भीर?

हङ्‌कङमा आगलागी भएको भवनबाहिर बाँधिएका बाँसका खट र भवनबाट खस्दै गरेको भग्नावशेष
तस्बिरको क्याप्शन, आगलागीका कारण पुगेको क्षतिको विवरण आकलन गर्न बाँकी नै छ

हङ्‌कङको अग्निनियन्त्रक विभागले उक्त आगलागीलाई 'लेभल फाइभ' स्तरको भनेको छ। त्यस्तो आगो गम्भीरताको स्तरमा सबभन्दा उच्च हो।

आगो लागेको पहिलो सूचना आएको ४० मिनेटभित्र नै त्यसलाई 'लेभल फोर' घोषणा गरिएको थियो भने साँझ ६ः३० बजेतिर उक्त स्तर झन् माथि उक्लियो।

हङ्‌कङमा 'लेभल फाइभ'को आगलागी योभन्दा पहिला १७ वर्षअघि भएको थियो।

भवनहरूभित्र विस्फोट भएको आवाज आएको अनि अग्ला भवनका माथिल्ला तलासम्म आगो निभाउने पाइप सहजै पुर्‍याउन नसकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अत्यधिक तापका कारण अग्निनियन्त्रकहरूलाई भवनमा पसेर उद्धार गर्न कठिनाइ भएको अग्निनियन्त्रक कार्यालयका उपनिर्देशक डेरेक आर्मस्ट्रङ चानले स्थानीय सञ्चारमाध्यमलाई बताए।

आगलागी भइरहेका भवनहरू

"भवनबाट वस्तुहरू अनि त्यहाँ बाँधिएका खटहरू खसिरहेकाले अग्रमोर्चामा खटिएका उद्धार कर्मचारीलाई थप खतरा भइरहेको छ," उनले भने।

कहिलेसम्म आगो पूर्ण नियन्त्रण हुन्छ भन्न नसकिने उनले बताए।

करिब ७६७ अग्निनियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स तथा करिब ४०० प्रहरी त्यहाँ खटाइएका छन्।

प्रहरीले तीन पुरुषलाई यो घटनाको सिलसिलामा पक्राउ गरेको छ। तीमध्ये दुई जना चाहिँ एक निर्माण कम्पनीका निर्देशक हुन् भने अर्का व्यक्ति इन्जिनियरिङ कन्सल्ट्यान्ट हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बुधवार सुरु भएको आगलागी अन्य भवनहरूमा पनि फैलिएको थियो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।