दक्षिणी लेबननबाट 'तत्काल' शान्ति सेना फिर्ता गर्न राष्ट्रसङ्घलाई इजरेली प्रधानमन्त्रीको आग्रह

लेबनन
तस्बिरको क्याप्शन, आइतवार दक्षिणी लेबननस्थित खियाममा भएको इजरेली हमलापछिको दृश्य
Published
पढ्ने समय: ४ मिनेट

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना 'तत्काल' त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका छन्।

शनिवार लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले यो साता दक्षिणी लेबननमा आफ्नो पाँचौं शान्ति सैनिक घाइते भएको जनाएको थियो।

नेतन्याहूले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।

बेन्जामिन नेतन्याहू
तस्बिरको क्याप्शन, बेन्जामिन नेतन्याहू/फाइल तस्बिर

"महासचिव महोदय, यूनिफिललाई क्षतिको मार्गबाट तत्काल हटाउनुहोस्," नेतन्याहूले उनको कार्यालयद्वारा जारी भिडिओमा भनेका छन्।

यस महिनाको सुरुमा इजरेली विदेशमन्त्री इसरेल काट्जले इजरेलमा इरानले आक्रमण गरेलगत्तै गुटेरसलाई 'पर्सोना नन ग्राटा' घोषणा गरेका थिए।

दक्षिणी लेबननमा लडाइँ चर्कियो

हिजबुल्लाहले सीमानजिकैको एउटा गाउँमा आफ्ना लडाकुहरू अत्यन्तै निकटको दूरीबाट इजरेली सेनासँग लडिरहेको जनाएको छ।

इजरेली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि लडाइँमा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ।

दक्षिण लेबननमा लडाइँ चर्किँदै गर्दा लेबननी अधिकारीहरूले इजरेलले आफ्नो लक्षित क्षेत्रलाई फराकिलो बनाएको जनाएका छन्।

आईडीएफका अनुसार उसले विगत २४ घण्टामा मात्रै हिजबुल्लाहका झण्डै २०० ठेगानामा आक्रमण गरेको छ।

तीमध्येका एउटा घटनामा रेड क्रसका स्वयंसेवकहरू पनि घाइते भएका छन्। ती स्वयंसेवकहरू इजरेलले आक्रमण गरेको एउटा भवनमा घाइते र हताहत भएकाहरूको खोजी गरिरहेका थिए।

आईडीएफले हिज्बुल्लाहले हतियार र लडाकुहरू ओसारपसार गर्न एम्बुलेन्सको प्रयोग गरेको आरोप लगाएको छ। तर उसले कुनै प्रमाण दिएको छैन।

लेबनन
तस्बिरको क्याप्शन, लेबननस्थित रेड क्रसको सवारी साधन

लेबनन र गाजामा पछिल्लो चौबीस घण्टामा के भयो?

दक्षिणी लेबनन
तस्बिरको क्याप्शन, दक्षिणी लेबननको दृश्य

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार डेइर बेला, अल मायस्रा र बर्जामा भएको इजरेली आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।

हिजबुल्लाहले शनिवार लेबननबाट इजरेलतर्फ करिब ३२० वटा क्षेप्यास्त्र प्रहार गरेको आइडीएफले जनाएको छ।

त्यस्तै मध्य र उत्तरी गाजामा शनिवार र गएराति भएका इजरेली हवाई हमलामा कम्तीमा २९ जनाको मृत्यु भएको चिकित्सकहरूलाई उधृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ।

एक साताअघि आईडीएफले उत्तरी गाजाको जबलियामा अर्को आक्रमण थालेको थियो। त्यहाँ हमासले पूर्वाधार 'पुनर्स्थापना' गर्ने प्रयास गरेको इजरेलको भनाइ छ।

गत सातामात्रै त्यहाँ १५० जना मारिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको अनुमान छ। इजरेली सेनाले जबलियालाई घेरा हालेको र आफूहरूलाई एउटा तोकिएको बाटोको प्रयोग गरी बाहिर निस्किन भनिएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

गाजा
तस्बिरको क्याप्शन, उत्तरी गाजा छाडेर अन्यत्र जाँदै गरेकाहरू

४० देशले गरे शान्ति सैनिकमाथिको आक्रमणको 'निन्दा'

लेबनन
तस्बिरको क्याप्शन, 'यूनिफिल'को अवलोकन टावर

बेलायतसहितका ४० देशले लेबननमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूमाथि भएको आक्रमणको 'कडा निन्दा' गरेका छन्।

बिहीवार इजरेली ट्याङ्कबाट भएको गोली प्रहारको घटनामा दुई इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए। शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको आईडीएफले जिम्मेवारी लिँदै अनुसन्धान गर्ने प्रतिबद्धता जनायो।

शुक्रवारको अर्को घटनामा फेरि दक्षिण लेबननमा गोली लागेर थप एक सैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिवार जनाएको छ। यद्यपि गोलीको स्रोतबारे केही बताइएको छैन।

राष्ट्रसङ्घको पोल्यान्ड मिशनको सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको संयुक्त वक्तव्यमा ती देशहरूले "यूनिफिलका शान्ति सेनामाथिका आक्रमण तत्काल रोकिनुपर्ने र त्यसबारे पर्याप्त अनुसन्धान हुनुपर्ने" उल्लेख गरेका छन्।

"उक्त क्षेत्रमा तनाव चर्किरहेको स्थितिमा हामी यूनिफिलको भूमिकालाई महत्त्वपूर्ण ठान्दछौँ," वक्तव्यमा भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।