ट्रम्पको घोषणापछि अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?

क्यानडाले पनि अमेरिकी उत्पादनमाथि शुल्क लगाउने घोषणा गरेको छ
तस्बिरको क्याप्शन, क्यानडाले पनि अमेरिकी उत्पादनमाथि शुल्क लगाउने घोषणा गरेको छ
Published
पढ्ने समय: ५ मिनेट

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामाग्रीहरूमा थप २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि त्यस्तै कर अमेरिकी उत्पादनहरूमा समेत लगाउने घोषणा गरेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरेका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए।

त्यसपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकामाथि पनि त्यस्तै प्रकारको शुल्क आफ्नो मुलुकले लगाउने बताएकी थिइन्।

चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ।

ट्रम्पको घोषणाले कुन कुन क्षेत्र समेटेको छ?

ट्रम्पको घोषणापछि ती तीन देशले जवाफी आयात कर अमेरिकी उत्पादनमा लगाउने बताएका छन्
तस्बिरको क्याप्शन, ट्रम्पको घोषणापछि ती तीन देशले जवाफी आयात कर अमेरिकी उत्पादनमा लगाउने बताएका छन्

ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ।

तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ।

सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन्।

उनले चीनले फेन्टनिल (औषधि)लाई प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले सीमा वारपार हुने आप्रवासन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाए।

अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि गराउनसक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन्।

क्यानडाले के भन्यो?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका वस्तुमा आफ्नो मुलुकले २५ प्रतिशत आयात शुल्क लगाउने निर्णय लिएको बताएका छन्।

उनले यसले 'लामो समय असर पुर्‍याउने' भन्दै अमेरिकामा उत्पादित बियर, वाइन, फलफूल र जुस, तरकारी, लत्ताकपडा र जुत्ताजस्ता वस्तुमा उक्त शुल्कको असर पर्ने बताए।

त्यसबाहेक फर्निचर र खेलकुद सामाग्री अनि संवेदनशील खनिज, ठेक्कापट्टा क्षेत्रमा पनि असर पुग्ने उनले उल्लेख गरेका थिए।

ट्रम्पको घोषणाविरुद्ध आयोजित पत्रकार सम्मेलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
तस्बिरको क्याप्शन, ट्रम्पको घोषणाविरुद्ध आयोजित पत्रकार सम्मेलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

उनले आउँदा दिन क्यानडा र अमेरिकीका नागरिकहरू लागि अप्ठेरा हुनसक्ने बताए।

अमेरिकी कदम र त्यसको प्रतिवादमा आफ्नो मुलुकले लिएको निर्णयले दुवैतर्फका नागरिक र कामदारलाई असर पार्ने उनको भनाइ छ।

"हामी यस्तो स्थितिमा हुन चाहन्न थियौँ, हामीले यो मागेको पनि होइन," उनले भने। "तर हामी क्यानडाको नागरिकको पक्षमा उभिनबाट पछि हट्दैनौँ।"

उनले आफू क्यानडा र अमेरिकाबीचको सफल साझेदारीको पक्षमा रहेको समेत बताए।

थप आयात शुल्क रोक्न ओटावाले अमेरिकासँगको सीमा सुरक्षाका लागि ९० करोड डलरको योजना कार्यान्वयन गर्ने वाचा गरेको थियो।

"आयात शुल्क जीवन रक्षाका लागि हामीले मिलेर चाल्ने उपयुक्त कदम होइन," ट्रुडोले पत्रकार सम्मेलनमा भने।

उनले अमेरिकी राष्ट्रपतिसँग उनको शपथग्रहण  यता आफ्नो कुराकानी नभएको भन्दै सम्पर्कको माध्यम भने खुला रहेको बताए।

मेक्सिकोको जवाफ के छ?

मेक्सिको, अमेरिका र क्यानडाको झन्डा
तस्बिरको क्याप्शन, मेक्सिको, अमेरिका र क्यानडाको झन्डा

मेक्सिकोकी राष्ट्रपति कलाउडीया सेनाबाउमले कडा भाषामा अमेरिकी निर्णयको प्रतिवाद गरेकी थिइन्।

एक्समा लेख्दै उनले ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको 'अपमान' गरेको बताएकी थिइन्।

ट्रम्प प्रशासनले मेक्सिको सरकार र मेक्सिकोका लागुपदार्थ कारोबारी संस्थाहरूबीच 'अमान्य किसिमको गठजोड' रहेको आरोप लगाएका थिए।

"यदि त्यस्तो गठबन्धन अस्तित्वमा छ भने यस्ता आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू विक्री गर्ने काम अमेरिकी बन्दुक उत्पादकहरूले गर्छन्," उनले लेखेकी छन्।

मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता सङ्गठित गिरोहहरूलाई रोक्न गैरकानुनी ढङ्गले हुने हतियारको तस्करी रोक्न माग गर्दै आएको थियो।

उनले मेक्सिको मूठभेडको पक्षमा रहेको भन्दै आफूले दुवै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल बनाएर जनस्वास्थ्य र सुरक्षाका क्षेत्रमा काम गर्न प्रस्ताव गरेको पनि उल्लेख गरिन्।

तर मेक्सिकोकी राष्ट्रपतिको सबैभन्दा महत्त्वपूर्ण घोषणा अन्त्यमा रहेको थियो। उनले देशका अर्थ सचिवलाई 'प्लान बी' अर्थात् वैकल्पिक योजना कार्यान्वयनमा ल्याउन आदेश दिइन्।

त्यसमा 'मेक्सिकोको स्वार्थ रक्षाका लागि आयातमा लाग्ने शुल्क र भन्सारबाहेकका व्यवस्था'सहितका बारेमा निर्णय गर्न आदेश दिइन्।

यस्ता कदममा अमेरिकी उत्पादनमा २५ प्रतिशत आयात शुल्क हुने अपेक्षा गरिएको छ। मेक्सिकोकी राष्ट्रपतिले त्यो आफ्नो सरकारको जवाफी प्रतिक्रियाको मुख्य पक्ष हुने बताउँदै आएकी छन्।

अमेरिका प्रवेश गरिरहेका मेक्सिकोका उत्पादन

चीनको प्रतिक्रिया के छ?

अमेरिकी घोषणा मङ्गलवारदेखि कार्यान्वयनमा आउने भनिएको छ।

चीनले आफूले पनि 'मिल्दोजुल्दो जवाफी कदम' चाल्ने र विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने योजना बनाएको बताएको छ।

उक्त कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकुल भएको भन्दै एउटा विज्ञप्तिमा चीनले भनेको छ: "चीन यसबाट असाध्यै असन्तुष्ट छ र यसको जोडदार विरोध गर्छ।"

यस्तो कदमले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यलाई क्षति पुर्‍याउने बेइजिङको भनाइ छ।

चीनले अमेरिकालाई आफ्नो 'त्रुटिपूर्ण अवधारणालाई' सच्याउन र चिनियाँ पक्षसँग 'समानता, आपसी लाभ र आपसी सम्मानमा' आधारित खुलस्त संवाद गरेर समस्याको हल गर्न पनि भनेको छ।

अघिल्लो वर्ष चीन, मेक्सिको र क्यानडाबाट अमेरिकामा भएको आयात समग्रको ४० प्रतिशत भन्दा बढी थियो।

अर्थविद्हरूले अहिले गरिएका आयात शुल्क र जवाफी कदमले कारदेखी स्टिलसम्म र फ्रेन्च फाइजदेखी टमाटर अनि एभोकाडोदेखी बियरसम्म महँगो हुनसक्ने बताएका छन्।

सबैभन्दा मारमा अटो उत्पादन पर्ने ठानिएको छ। सवारी साधनका पार्टपुर्जा ती तीन सीमामा एक भन्दा बढी पटक प्रवेश गरेपछिमात्रै सवारी साधन बन्ने गर्छ।

अर्थविद्हरूले औसतमा अमेरिकामा कारको मूल्य ३ हजार डलरसम्मले बढ्नसक्ने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।