के हमासले गाजा युद्ध थेग्न सक्ला? इजरेलको नयाँ घोषणापछि अबको सम्भावित दृश्य

हमासको अल कसाम ब्रिगेड
    • Author, हनान राजेक
    • Role, संवाददाता, बीबीसी अरेबिक
  • Published
  • पढ्ने समय: ६ मिनेट

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सिङ्गो गाजामाथि "नियन्त्रण गर्न" चाहेको बताएका छन्। तर त्यसलाई "राखिराख्न नचाहेको" उनको भनाइ छ। उसो भए गाजामा हमासको भविष्य के छ र त्यो कस्तो देखिन्छ?

नेतन्याहूको अभिव्यक्तिभन्दा केही दिनअघि मात्र उक्त सशस्त्र समूहले सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म निरस्त्र नहुने दोहोर्‍यायो।

गाजामा युद्धविरामका लागि इजरेल र अमेरिकाले गरेका प्रमुख मागमध्ये एउटाबारे जवाफ दिने क्रममा हमासले त्यस्तो बताएको हो।

गाजा द्वन्द्व अन्त्यका लागि इजरेलका विभिन्न पूर्वशर्तमध्ये हमासलाई निरस्त्र बनाइनुपर्ने एउटा रहेको छ।

गत साता न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको आयोजना र साउदी अरब एवं फ्रान्सको सहआयोजनामा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा १७ राष्ट्र, युरोपेली सङ्घ ईयू र अरब लीगले एउटा घोषणापत्र जारी गरे।

सम्मेलनले युद्ध अन्त्यका लागि हमासलाई अस्त्र बिसाउन र गाजामाथिको नियन्त्रण छोड्न आह्वान गर्‍यो।

गाजाबारेका वार्ताहरूमा मध्यस्थता गर्दै आएका इजिप्ट र कतारको नाम पनि संयुक्त वक्तव्यमा समावेश थियो। हुन त इजरेल र अमेरिकाले त्यसमा हस्ताक्षर गरेनन्।

बन्धक मुक्त गर्ने कार्यक्रमका सिलसिलामा एक हमास लडाकुहरू
तस्बिरको क्याप्शन, बन्धक मुक्त गर्ने कार्यक्रमका सिलसिलामा एक हमास लडाकुहरू

हमासले सशस्त्र लडाइँ जारी राख्ने

हमासका एक नेताले "सबै गोलीहरू सकिसकेपछि पनि" हार नमान्ने अल-जजीरालाई बताए।

प्यालेस्टिनी राज्य स्थापना नभएसम्म लडाइँ जारी राख्ने हमासको उद्देश्यलाई उनको भनाइले पुनर्पुष्टि गर्छ।

हमास अधिकारी गाजी हमाद
तस्बिरको क्याप्शन, IMAGE: अल जजीराबाट बीबीसीले उद्धृत गरेका गाजी हमाद

न्यूयोर्क घोषणापत्रको बुँदा नं ११ प्रति धेरैको ध्यान तानिएको गाजाको अल-उम्माह विश्वविद्यालयस्थित प्यालेस्टिनी राजनीतिशास्त्रका प्राध्यापक होस्साम अल-दजानी बताउँछन्।

सम्मेलनपछि जारी औपचारिक घोषणापत्रको बुँदा नं ११ मा भनिएको छ : "प्यालेस्टिनी भूभागभरि सरकार, कानून कार्यान्वयन गर्ने निकाय र सुरक्षा अङ्ग प्यालेस्टिनी अथोरिटीसँग मात्र रहनुपर्छ।"

अल-दजानीका अनुसार ४१ बुँदे घोषणापत्रका अरू केही बुँदाले प्यालेस्टिनी राज्यको स्थापना र त्यससँग मिलेर इजरेल बस्नुपर्ने कुरा गरेका छन्।

उनका अनुसार यसको अर्थ घोषणापत्रले प्यालेस्टिनी राज्य स्थापनाबारे विभिन्न उपाय सुझाएको छ।

"यदि न्यूयोर्क घोषणापत्र [त्यसका बाँकी कुराहरू] लागु हुन्छ भने आर्टिकल ११ पूरा भइसकेको हुन्छ," अल-दजानीले बीबीसीसँग भने।

गाजा स्ट्रिपमा मृतक बन्धकको शव बुझाउने क्रममा एउटा दृश्य
तस्बिरको क्याप्शन, गाजा स्ट्रिपमा मृतक बन्धकको शव बुझाउने क्रममा एउटा दृश्य

प्यालेस्टिनी राज्य

एउटा आतङ्कवादी सङ्गठनका रूपमा संयुक्त राज्य अमेरिका, यूके र अरू पश्चिमा देशहरूले हमासमाथि प्रतिबन्ध लगाएका छन्।

उसले प्यालेस्टिनी राज्य स्थापना भएपछि भावी प्यालेस्टिनी सरकारलाई अस्त्रहरू बिसाउने बताउने गरेको छ।

तर विश्लेषकहरूका अनुसार हमासले गाजामाथि आफ्नो ठूलो नियन्त्रण गुमाइसकेको छ।

सत्ता सञ्चालकको हैसियतमा हमासको अझै उपस्थिति रहेको छ।

गाजामा सुव्यवस्था कायम राख्ने र लुटपाटका घटना हुन नदिने उद्देश्यसहित हालै हमासको सुरक्षा एकाइ 'साम' सञ्चालनमा ल्याइएको छ।

गाजामा व्यापक भोकमरी देखिएको छ
तस्बिरको क्याप्शन, गाजामा व्यापक भोकमरी देखिएको राष्ट्रसङ्घ लगायतले बताउने गरेका छन्

प्यालेस्टिनी नागरिकहरूले हमासप्रति आक्रोश व्यक्त गरेका छन् र लडाकुहरूले प्रदर्शनकारीमाथि दमन गरेका छन्।

सहायता निकाय तथा संयुक्त राष्ट्रसङ्घले मानिसहरू भोकमरीबाट मरिरहेका चेतावनी दिइरहँदा खानेकुरा र सहायताको अभाव छ।

धेरै विश्लेषकहरूका अनुसार हमास लडाकुहरू अहिले निःशब्द छन् किनकि अक्टोबर ७ का हमलापछि यो अवस्थामा पुगिने उनीहरूको अपेक्षा थिएन।

त्यससता इजरेली सेनाले २२ महिनादेखि गरिरहेको हमलाबाट हमासका लडाकुहरू गलेका छन्।

हमास लडाकु
तस्बिरको क्याप्शन, बन्धक मुक्त गर्ने क्रममा फेब्रुअरीमा हमास लडाकुहरू

स्थानीय समाचारहरूका अनुसार हमाससँग अझै अस्त्रहरू छन्। तर भण्डारण घटिरहेको छ।

उनीहरूका अनुसार इजरेली हमलापछि बाँकी रहेका पुराना अस्त्रहरू पुनः प्रयोग भइरहेका छन्। तीमध्ये अधिकांश बमहरू विस्फोट हुन सक्दैनन्।

इजरेलले गाजामा बीबीसीलाई पहुँच दिएको छैन। त्यसैले यी कुराहरूको स्वतन्त्र पुष्टि गर्न सकिँदैन।

ध्वस्त गाजामा बालबालिका
तस्बिरको क्याप्शन, इजरेली हवाई हमलाहरूले गाजामा व्यापक क्षति निम्त्याएको छ

क्षेत्रीय रूपमा हमासका अब थोरै मात्र साझेदार बाँकी छन्। इजरेलसँग १२ दिन लडाइँ गरेको इरानसाग हमासलाई सहयोग गर्ने क्षमता घटेको छ।

लेबननमा इरान सम्बद्ध हिज्बुल्लाह लडाकु समूहमाथि इजरेली हमलाहरू र उसका नेताहरूको हत्याबाट उक्त समूह कमजोर बनेको छ।

लेबननी सरकारबाट हिज्बुल्लाहले अस्त्र त्याग्ने दबाव झेल्दै आएको छ र उसले बाह्य सहयोग प्राप्त गर्ने न्यून अवसर छ।

प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामी
तस्बिरको क्याप्शन, प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामी

अरब लीग

हमासले अस्त्र त्याग्नुपर्ने माग गरेको न्यूयोर्क घोषणापत्रमा अरब लीगले हस्ताक्षर गरेको छ।

उक्त सङ्गठनमा २२ देश सदस्य छन्, जसमा हमासको स्वागत गर्ने एवं उसप्रति मित्रवत् देखिने कतार पनि आबद्ध छ।

लन्डनमा अवस्थित विश्व मामिला संवाद मञ्च 'च्याटम हाउस'स्थित वरिष्ठ सल्लाहकार प्राध्यापक योसी मेकेल्बर्गका अनुसार इजरेल र अमेरिकाले आफ्नो पुरानै अडान लिइरहेका छन्।

तर उनका अनुसार अरब देशहरूले रबैया फेरेका छन्। अरब र क्षेत्रीय तत्त्वहरूले बढाइरहेका दबावका कारण हमास एकदम "एक्लिने अवस्थामा" पुग्न सक्छ।

गाजामा हालसम्म ६० हजारभन्दा बढी मानिस मारिएका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ
तस्बिरको क्याप्शन, गाजामा हालसम्म ६० हजारभन्दा बढी मानिस मारिएका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ

बन्धकहरू

हमासले सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाएर बाँकी रहेका इजरेलीहरूलाई मोलमोलाइको माध्यम बनाइरहेको छ।

करिब १२०० जनाको ज्यान जाने गरी गरेको हमलाका क्रममा हमासले २५१ जनालाई बन्धक बनाएको थियो।

त्यसयता इजरेलले थालेको आक्रमणमा ६० हजार जनाभन्दा बढी मानिसहरू गाजामा मारिएका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

केहीको मृत्यु र केही इजरेल फर्किइसकेपछि अमेरिकाका अनुसार अझै २० जना बन्धकहरू जीवित हुन सक्छन्।

हमासले अगस्टको शुरूतिर एक बन्धक इभाटर डेभिडको भिडिओ सार्वजनिक गरेको छ जसमा उनी कमजोर र सुकेका देखिन्छन्।

त्यो भिडिओ सार्वजनिक भएपछि बन्धकका परिवारहरूले युद्ध अन्त्य गराउन बेन्जमिन नेतन्याहूमाथि दबाव बढाउन सक्ने हमासको अपेक्षा हुन सक्ने टिप्पणीकारहरू बताउँछन्।

भिडिओ सार्वजनिक भएपछि बन्धकका परिवारहरूले रिहाइलाई प्राथमिकता दिन नेतन्याहूलाई आग्रह गरेका छन्।

हमासका मारिएका नेताहरू

इजरेलले युद्धयता थुप्रै हमास नेताहरूलाई मारिदिएको छ

सन् २०२३ को अक्टोबरयता इजरेलले हमासका समग्र नेता इस्माइल हानियासहित उच्च नेताहरूलाई मारिदिएको छ। इरानको राजधानी तेहरानमै हानिया मारिएका थिए।

अक्टोबर ७ हमलाका प्रमुख योजनाकार ठानिएका याह्या सिन्वारलाई पनि इजरेलले मारिसकेको छ।

मेकेल्बर्गका अनुसार हमास भौतिक रूपमा भन्दा राजनीतिक सान्दर्भिकतालाई कायम राख्ने प्रयासमा रहेको देखिन्छ।

तर सो समूहको "सान्दर्भिकता"को विषयमा बाँकी रहेका नेताहरूले कडा निर्णय लिनुपर्ने हुन्छ।

नेतन्याहूले गाजामाथि "पूर्ण नियन्त्रण" र "हमासलाई हटाउन" चाहेको बताएपछि हमासका लागि विकल्प घट्दै गएको देखिन्छ।

नेतन्याहूले पूर्ण नियन्त्रणको योजना घोषणा गरेका हुन्
तस्बिरको क्याप्शन, नेतन्याहूले पूर्ण नियन्त्रणको योजना घोषणा गरेका हुन्

हमासको भविष्य

के हमासले गाजा युद्ध थेग्न सक्ला?

प्यालेस्टिनी राज्य स्थापना भयो र आफ्ना प्रतिबद्धताप्रति हमास कटिबद्ध रह्यो भने उसले बल प्रयोग त्याग्ने छ।

तर वर्तमान इजरेली सरकारले नीति नबदलेसम्म प्यालेस्टिनी राज्य स्थापना निकै टाढा रहेको देखिन्छ।

त्यो अवस्थामा पनि हमास रहिरहने छ भन्ने जरुरी छैन।

हमासले आफूलाई फेरि नयाँ रूपमा अघि सार्न सक्ने र प्यालेस्टिनी राजनीतिक दृश्यमा रहने सम्भावना रहने च्याटम हाउसका योसी मेकेल्बर्ग बताउँछन्।

यो चाहिँ भित्रबाटै अथवा प्यालेस्टिनी भूभाग बाहिरबाट हुन सक्छ।

प्यालेस्टिनी राज्यबारे इजरेलको नीति र अहिले अवस्थाबाट निस्केपछि गाजाका मानिसहरूबीच हमास कति लोकप्रिय रहने छ भन्ने कुरामा त्यो निर्भर गर्ने छ।

इजरेल गाजा सीमानजिक देखिएको दृश्य
तस्बिरको क्याप्शन, युद्धका कारण गाजा ध्वस्त भएको छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।