१० महिनामा १२५ किलो वजन घटाएर जीवन बदलेका एक अफगान पुरुष

कुद्रतुल्लाह
तस्बिरको क्याप्शन, कुद्रतुल्लाहको वजन उनी किशोरावस्थामा हुँदादेखि बढ्न थालेको थियो तर उनले एक वर्षअगाडि मात्रै वजन घटाउने निधो गरे
    • Author, नदीम असरफ
    • Role, बीबीसी अफगान
  • Published
  • पढ्ने समय: ५ मिनेट

अफगानिस्तानको दक्षिण पूर्वी सहर जलालावादका कुद्रतुल्लाहले जब विद्यालयको पढाइ सके उनका धेरै साथीहरू विश्वविद्यालय जाने तयारी गर्दै थिए। तर उनी भने वजनका कारण कुर्सीमा बस्न नसक्ने भएकाले उनले त्यस्तो तयारी नै गरेनन्।

"मैले सोचिरहेँ, यो वजन लिएर विश्वविद्यालय म कसरी जान सक्छु। र यदि विश्वविद्यालय गएँ भने पनि त्यसले मलाई केही फाइदा हुने छैन," बीबीसीसँग उनले भने।

जीवनको यो बिन्दुमा कुद्रतुल्लाहको वजन २१६ किलोग्राम थियो। उनी १८० सेन्टिमिटर अग्ला भए पनि उनको कम्मर नै १४७ सेन्टिमिटर थियो।

उनको शरीरको वजन, उचाइ र उमेरको मापनबाट निकालिने बडी मास इन्डेक्स बीएमआई त ६७ थियो। उक्त सङ्ख्या ३० भन्दा बढी हुनुलाई नै मोटोपनामा गनिन्छ।

तर एक वर्षअघि कुद्रतुल्लाह वजन घटाउने यात्रामा लागे र मात्र १० महिनामा उनले आफूलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय बनाए।

वजनसँगको सङ्घर्ष

कुद्रतुल्लाह
तस्बिरको क्याप्शन, कुद्रतुल्लाहले आफ्नो वजनका कारण दैनिक कामकाज नै गर्न नसकेको बताए

कुद्रतुल्लाहको वजन उनी किशोरावस्थामा हुँदादेखि बढ्न थालेको हो। त्यसको तीन वर्षमा जब उनको विद्यालयको पढाइ सकियो त्यो बेलासम्म त उनी थाहा हुने गरी नै मोटो भइसकेका थिए।

"मैले आफू जति मोटो मानिस कोही पनि कहिल्यै पनि देखेको थिइनँ। मेरो जीवन अरूको भन्दा कठिन थियो। म दैनिक कामकाज गर्न सक्दिनथेँ। तर अरूका लागि भने त्यही काम सामान्य हुन्थ्यो।"

अफगानिस्तानमा ८ मध्ये एक जनाको बीएमआई ३० भन्दा माथि हुन्छ। कुद्रतुल्लाहको वजनले उनमा घातक रूपमा मोटोपना भएको र त्यसले उनको चालचलनमै असर गरेको थियो।

"न मैले हाइकिङ गर्न सकेँ न नै पौडी खेल्न सकेँ। अन्य कुनै गतिविधि पनि मैले गर्न सकिनँ। हिँड्न मात्रै पनि मलाई समस्या थियो।"

कतै जानुपरे उनी टुकटुक चढ्थे। तर उनी चढ्दा टुकटुकको धेरै ठाउँ ओगटिने भएकाले उनले थप पैसा तिर्नुपर्थ्यो। उनलाई मिल्ने जुत्ता र लुगा पनि पाउन मुस्किल हुन्थ्यो।

"लुगा र जुत्ता फारो पनि हुँदैन थियो। उनीहरूले मेरो उचाइ लिनै सक्दैनथे र कपडाको खपत पनि धेरै हुन्थ्यो। मेरो लुगा सिलाउन ९ मिटर कपडा आवश्यक पर्थ्यो," उनले भने।

उनलाई मानिसहरूले जिस्काउने र गिज्याउने पनि गर्थे।

"म धेरैजसो बाहिर जानै खोज्दिनथेँ किनभने धेरै मानिसहरू मलाई देखेर हाँस्थे र मेरो पछाडि सबै खालका कुराहरू गर्थे।"

कुद्रतुल्लाह
तस्बिरको क्याप्शन, कुद्रतुल्लाहले धेरै क्यालोरी हुने खानेकुरा खान छोडे र दिनमा दैनिक पाँच घण्टा कसरत गर्न थाले

वजनका कारण कुद्रतुल्लाहको स्वास्थ्य बिग्रियो। उनमा मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल बढी देखियो।

"मैले टाउकोमुनि दुई वटा तकिया राख्नुपर्थ्यो र धेरैजसो म जहाँ बस्यो त्यहीँ निदाउथेँ।"

उनलाई चिकित्सकहरूले आफ्नो वजन कम गर्न सुझाएका थिए।

घरको प्रेरणा

कुद्रतुल्लाहका दाइ हेवाद खानमा पनि मोटोपनाको समस्या थियो। तर उनले आफ्नो ११० किलोग्राम वजन घटाएर ७० किलोग्रामका भए। कुद्रतुल्लाहलाई आफूले पनि आफ्नो वजन घटाउन सक्छु भन्ने लाग्यो।

उनी जिम जान थाले र एक जना प्रशिक्षकले उनलाई आहारको योजना बनाइदिए।

कुद्रतुल्लाहले चिल्लो धेरै भएका खानेकुरा, भात, चिनी धेरै हुने पेय पदार्थ र मासु खान छोडे। उनले त्यसको सट्टा अण्डाको सेतो भाग, सलाद, उसिनेको कुखुराको मासु, माछा र जौको पिठोको रोटी खान थाले।

"सुरुमा, मलाई खानाको मात्रा घटाउन एकदमै गाह्रो भयो किनभने म धेरै नै खाने गर्थेँ। त्यसपछि मैले आहार योजना पछ्याउन थालेँ र अन्तत: मलाई त्यसमै बानी लाग्यो। मैले पानी पनि अत्यधिक पिएँ।"

उनी दिनमा करिब पाँच घण्टा जिममा बिताउँथे। र चाँडै नै उनको शरीरमा परिवर्तन देखिन थाल्यो। १औ महिनामा कुद्रतुल्लाहले २१६ किलोग्रामबाट ९१ किलोग्राममा वजन घटाए, त्यो भनेको उनले आधा शरीरभन्दा पनि बढी तौल घटाए। त्यसका लागि उनले दैनिक औसतमा ४०० ग्रामभन्दा बढी घटाउनुपर्‍यो। उनको कम्मर पनि ८६ सेन्टिमिटरको भयो। अहिले उनको बीएमआई २९ रहेको छ। त्यो भनेको अझै पनि अलि बढी वजन हो तर मोटोपना भने होइन।

 कुद्रतुल्लाह
तस्बिरको क्याप्शन, वजन घटाएपछि कुद्रतुल्लाह अहिले बस्न र हिँड्न सहजै सक्छन्

मोटोपनाको प्रकोप

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा प्रत्येक ८ जनामध्ये एक जनामा मोटोपना रहेको छ।

यसले टाइप २ डाइबिटिज र मुटु रोगको खतरा बढाउँछ। त्यसबाहेक यसले हड्डीको स्वास्थ्य र आमा हुने क्षमतामा असर गर्छ भने क्यान्सरको खतरा पनि बढाउँछ।

मोटोपनाले निद्रा र दैनिक कामकाजजस्ता मानिसको जीवनको गुणस्तरमा पनि प्रभाव पार्छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसले एक सातामा एक किलोभन्दा कम वजन नघटाउन र खानेकुरा नछोड्न सुझाएको छ।

यूकेमा रहेका डाक्टर इब्राहिम डलिलिले कुद्रतुल्लाहको वजन एकदमै धेरै रहेको र त्यस्तो व्यक्तिले कम क्यालोरीका खाना खाँदा त्यसले दीर्घकालमा स्वास्थ्य फाइदाहरू पुग्ने बताएका छन्।

"अत्यधिक वजनले जीवनमा नकारात्मक असर गर्छ, त्यसैले उनका लागि वजन घटाउन आवश्यक थियो। कुद्रतुल्लाहले आहार योजना अनुसार मात्रै खाए र त्यसमा आवश्यक पर्ने प्रोटिन, क्यालोरी र भिटामिनहरू थियो। त्यसैले वजन र कसरतको योजनाले उनको वजन घटाउने प्रक्रियाले गति लियो," डाक्टर डलिलिले भने।

खेतमा उभिएका कुद्रतुल्लाह
तस्बिरको क्याप्शन, कुद्रतुल्लाहले अब नर्सिङ पढ्ने र आफ्नो बुवाको व्यापारमा सघाउने योजना बनाएका छन्

आत्मविश्वास फर्कियो

कुद्रतुल्लाहका आमाबुवा र छ जना दाजुभाइ दिदीबहिनी छन्। र उनीहरू सबै जना उनले वजन घटाएकामा दङ्ग छन्।

"अहिले म आमाबुवाका लागि पूर्ण रूपमा फरक कुद्रतुल्लाह हुँ। कम उमेरमै वजन बढी भएका कारण मेरो शरीरमा धेरै रोगहरू छ भनेर उहाँहरू दिक्क हुनुहुन्थ्यो। तर अहिले उहाँहरू धेरै नै खुसी हुनुहुन्छ।"

कुद्रतुल्लाह अहिले जीवनका साना खुसीहरूमा रमाइरहेका छन्। उनी सार्वजनिक यातायात प्रयोग गर्न सक्छन् र टुकटुकमा सहजै बस्न सक्छन् र क्रिकेटसमेत खेल्न सक्छन्।

"अहिले मेरो जीवन धेरै सामान्य छ र म धेरै खुसी छु।" खुट्टालाई मिल्ने जुत्ता भेट्न उनलाई अब समस्या छैन।

उनी आफू नर्सिङ पढ्न चाहन्छन् र आफ्नो परिवारको औषधिसम्बन्धी व्यापारमा आफ्नो बुवालाई सघाउन चाहन्छन्।

विश्वविद्यालयको पढाइ सुरु गर्नुभन्दा अगाडि कुद्रतुल्लाहले अब आफ्नो दराजमा आफूलाई मिल्ने लुगा राख्नु पर्नेछ।

"मेरा पुराना सबै लुगा अब काम नलाग्ने भएका छन् र त्यो मलाई मात्रै होइन कसैलाई पनि ठिक हुँदैन," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।