सुनीता विलिअम्स सकुशल पृथ्वी फर्किऊन् भनेर भारतस्थित पुर्ख्यौली गाउँमा प्रार्थना

अन्तरिक्षबाट सुनीता विलिअम्सको शकुशल फिर्तीको प्रार्थना गर्दै भारतको झुलासण गाउँका महिलाहरू
    • Author, रोक्सी गागडेकर छारा
    • Role, बीबीसी न्यूज गुजराती, झुलासण
  • Published
  • पढ्ने समय: ४ मिनेट

पश्चिम भारतको गुजरातस्थित एउटा सुन्दर गाउँस्थित विद्यालयले अमेरिकी अन्तरिक्षयात्री सुनीता विलिअम्सको ५९औँ जन्मदिनको अवसरमा अन्तरिक्षसँग सम्बन्धित एउटा प्रदर्शनी आयोजना गरेको छ।

झुलासण गाउँका मानिसहरूले त्यहाँ अखण्ड दीप बालेर भारतीय मूलकी ती अमेरिकी अन्तरिक्षयात्री सकुशल पृथ्वी फर्किन पाऊन् भनेर प्रार्थना गरेका छन्।

झुलासण विलिअम्सका बाबुबाजेको थलो हो। दुई पटक अन्तरिक्ष अभियान सफल भएपछि उनी सन् २००७ र सन् २०१३ मा उक्त गाउँ गएकी थिइन्।

झुलासणवासीहरू विलिअम्स अहिलेको अन्तरिक्ष अभियानबाट सुरक्षित घर फर्किनेमा आशावादी देखिन्छन्। उनी उक्त गाउँको भ्रमणमा आउन सक्ने उनीहरूलाई लाग्छ।

विलिअम्स र उनका सहकर्मी ब्यारी विल्मोर एउटा परीक्षण अभियानमा सहभागी हुँदै गत जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तिर गएका थिए।

उनीहरू आठ दिनमा नै फर्किने ठानिएको थियो। तर 'बोइङ स्टारलाइनर' यानमा समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्षमा नै फसे।

अमेरिकी अन्तरिक्ष निकाय नासाले हालै ती अन्तरिक्षयात्रीहरूलाई आगामी फेब्रुअरीमा 'स्पेसएक्स फाल्कन ९' अन्तरिक्षयानले पृथ्वी ल्याउने जनाएको छ। अलपत्र परेयता विलिअम्स र विल्मोरले सङ्क्षिप्त पत्रकार सम्मेलन गरेका छन्।

उनीहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको छ।

सूक्ष्म गुरुत्वाकर्षण वा तौल विहीनताको अवस्थामा लामो समय रहनु र अन्तरिक्षमा पाइने विभिन्न किसिमका अन्य विकिरणले उनीहरूको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञहरू बताउँछन्।

पण्ड्या परिवारको सम्झना

सुनीता विलिअम्स
तस्बिरको क्याप्शन, सन् २००७ मा सुनीता विलिअम्सलाई आफ्नो पुर्ख्यौली गाउँमा अभिनन्दन गरिएको थियो

झुलासणका बासिन्दाहरू पनि विलिअम्सको स्वास्थ्यप्रति चिन्तित छन्।

उनका आफन्त नवीन पण्ड्या परस्पर बाझिने खालका सूचना देख्दा आफूलाई असहज महसुस भएको बताउँछन्। “कसै कसैले उनी ठिक छिन् भन्छन्, अरूले उनी सकुशल नफर्किन सक्छिन् भन्ने गर्छन्। हामीले उनलाई के भइरहेको छ र उनी कहिले अनि कसरी फर्किन्छिन् भन्ने विषयमा वास्तविक सूचना पाइरहेका छैनौँ।”

झन्डै ७,००० जनसङ्ख्या रहेको झुलासणमा अहिले पनि विलिअम्ससँग जोडिएका केही सङ्केतहरू देख्न सकिन्छ। उनका हजुरबुबा र हजुरआमाको नाम अङ्कित एउटा पुस्तकालय अहिले पनि त्यहाँ छ। तर त्यो राम्रो स्वरूपमा छैन। उनका पिता दीपक पण्ड्याको पुर्ख्यौली घर जीर्ण अवस्थामा छ।

आफ्नो भ्रमणका क्रममा विलिअम्सले एउटा विद्यालयका लागि आर्थिक सहयोग गरेकी थिइन्। सो विद्यालयको प्रार्थनागृहमा उनका हजुरबुवा र हजुरआमाको तस्बिर अङ्कित छ। सन् २००७ मा विलिअम्सलाई उक्त विद्यालयमा अभिनन्दन गरिएको थियो।

किशोर पण्ड्याले उनलाई भेट्ने मौका पाएका थिए। “मैले उनलाई भेटेँ र टुटेफुटेको अङ्ग्रेजीमा भनेँ, ‘म तपाईँको भाइ हुँ'।"

"उनले हात मिलाइन् र भनिन् : ‘ए, मेरो भाइ!' म उक्त क्षण सम्झेर गर्व गर्छु।”

सुनीता विलिअम्सको पुर्ख्यौली गाउँमा अन्तरिक्ष विषयक प्रदर्शनी आयोजना गरिएको छ
तस्बिरको क्याप्शन, सुनीता विलिअम्सको पुर्ख्यौली गाउँमा अन्तरिक्ष विषयमा प्रदर्शनी आयोजना गरिएको छ

स्थानीय मन्दिरमा प्रार्थना

सुनीताका बुवा दीपक पण्ड्या सन् १९५७ मा उच्च शिक्षा हासिल गर्न संयुक्त राज्य अमेरिका गएका थिए। त्यहाँ उनको अर्सुलिन बोनीसँग भेट भयो। उनीहरूले बिहे गरे। सन् १९६५ मा सुनीताको जन्म भयो।

त्यसको सात वर्षपछि पण्ड्या सपरिवार पहिलो पटक झुलासण आए। गाउँका लागि त्यो खुसीको क्षण थियो। पण्ड्या परिवारले त्यहाँ न्यानो स्वागत पायो। उनीहरूलाई पूरै गाउँको परिक्रमा गराइयो।

अठसट्ठी वर्षीय भरत गज्जर त्यो बेला सिकर्मीको काम गर्थे। अहिले उनी पुराना कुरा सम्झन्छन्। “म अझै पनि सानी सुनीता र अरूले ऊँट चढेर पूरै गाउँ घुमेको सम्झिन्छु।”

उक्त घटनाबाट धेरै जनाले पण्ड्याको पदचाप पछ्याउँदै विदेश गएर राम्रो जीवन बनाउने प्रेरणा पाए। तर गाउँमै बसेकाहरूले पहिला उक्त परिवारबाट र अहिले सुनीताबाट प्रेरणा लिइरहेका छन्।

हालै अमेरिकाको भ्रमण गरेकी मधु पटेल झुलासण गाउँ विलिअम्सको जीवनयात्रा र साहसिक कामका कारण चर्चित र सम्मानित रहेको ठान्छिन्।

पटेलसहित गाउँका महिलाहरूको एउटा समूहले आस्थापूर्वक एउटा स्थानीय मन्दिरमा विलिअम्सका लागि दैनिक प्रार्थना गर्छ। मन्दिरभित्र अन्तरिक्षमा अलपत्र परेकी विलिअम्सको पनि तस्बिर राखिएको छ।

“हामी उनका उपलब्धिहरूका कारण गौरवान्वित छौँ। नासा र सरकारले हाम्री चेलीलाई सुरक्षित फर्काउन आफूले सकेको सबै गर्नुपर्छ।”

स्थानीय बासिन्दाहरूका अनुसार सुनीताका बुवाको देहावसान भएपछि पण्ड्या परिवारसँगको सम्पर्क टुटेको छ। तर आफूहरूले विलिअम्सलाई सम्झिएको कुरा उनले थाहा पाऊन् भन्ने गाउँलेहरूले ठानेका छन्।

विलिअम्सको फिर्तीको प्रतीक्षा गरिरहँदा उनको काम र भनाइले धेरैलाई प्रेरित गरिरहेको छ। ब्याङ्किङ परीक्षाको लागि अध्ययन गरिरहेका मन्थन लेउवा विलिअम्सले भनेको एउटा कुरा सम्झिन्छन्।

“उनले भनेकी थिइन् - आफूले गरेको कुरालाई माया गर्दा सफल भइन्छ। म त्यसलाई निकै प्रेरणादायी मान्छु,” उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।