भारतीयहरू वर्षौँको बचत तडकभडकपूर्ण विवाहको समारोहमा किन खर्च गर्छन्?

अनन्त राधिका विवाह
तस्बिरको क्याप्शन, अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहलाई पछिल्लो समयको सबैभन्दा खर्चिलो विवाह भएको ठानिएको छ
    • Author, नन्दिनी भेलाईसामी
    • Role, बीबीसी तमिल
  • Published

एसियाकै धनाढ्य मुकेश अम्बानीका छोराको विवाह समारोह सम्पन्न हुनुअघि सम्म त्यससँग सम्बन्धित विभिन्न कार्यक्रमले विगत केही हप्ता धेरैको ध्यान भारतमा केन्द्रित भएको थियो।

बलिवुड स्टार अमिताभ बच्चन, शाहरूख खान, दीपिका पादुकोन, लोकप्रिय क्रिकेटरहरूदेखि अमेरिकाको सिलिकन भ्यालीका अर्बपति बिल गेट्स र मार्क जकरवर्ग अनि अन्तर्राष्ट्रिय स्टार जस्टिन बिबर र रिहाना विवाहसँग सम्बन्धित विभिन्न समारोहरूमा उपस्थित भए।

झकिझकाउ पोसाक र गहनामा सजिएका उनीहरूको तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा जताततै देखिन्छ।

रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बनीका कान्छा छोरा अनन्त अम्बानीले औषधि कम्पनीका मालिक विरेन र शैला मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग गत जुलाई १२ तारिखमा विवाह गरेका हुन्।

भारतमा अम्बानीहरूको व्यापारिक साम्राज्य तेलदेखि, टेलिकम, रसायन, प्रविधि, मिडिया र फ्याशनदेखि खानेकुरासम्म रहेको छ र उनीहरूको उपस्थिति सर्वव्यापी जस्तै छ। त्यसै कारण उनीहरूको जीवन सार्वजनिक आकर्षणको विषय बन्ने गरेको छ।

फोर्ब्स म्यागजिनका अनुसार अम्बानीसँग १२४ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ।

अनन्त राधिका विवाह
तस्बिरको क्याप्शन, मुकेश अम्बानी आफ्नो पत्नी निता अम्बानीसँग

भारतभित्र अम्बानी परिवारको अथाह सम्पत्ति र दबदबाबारे सबैलाई थाहा भए पनि भारतबाहिर भने मानिसहरूलाई उनीहरूको यो तहको रवाफ थाहा नहुन सक्छ।

तर गत मार्चयता त्यसमा परिवर्तन भयो, जब अम्बानीले आफ्नो कान्छा छोरा अनन्तको लागि तीन दिने प्रि-वेडिङ अर्थात् विवाह पूर्व नै गरिने समारोह आयोजना गरे।

हालैको विवाह समारोहमा गरिएको खर्चबारे व्यापक अनुमानहरू भएका छन् तर जुनसुकै धर्म, जात वा संस्कृति होस् भारतमा विवाहलाई मानिसहरू आफ्नो सम्पत्ति, हैसियत र सामाजिक प्रभाव देखाउने अवसरका रूपमा लिन्छन्।

आफ्नो आर्थिक क्षमता अनुसार उनीहरूले विवाहका समारोहहरू आयोजना गरे पनि धेरै अवस्थामा परिवारहरू यस्का लागि ठूलो ऋणमा पनि डुब्ने गरेका छन्।

अनन्त राधिका विवाह
तस्बिरको क्याप्शन, गत मार्चमा भएको प्री वेडिङ कार्यक्रममा प्रस्तुति दिँदै पपस्टार रिहाना

अर्बौँ डलरको विवाह बजार

पुँजी बजार र इन्भेस्टमेन्ट बैङ्किङबारे काम गर्ने कम्पनी जेफरिजको हालैको एउटा प्रतिवेदनका अनुसार भारतीय विवाह उद्योगको आकार करिब १३० अर्ब डलर जतिको छ।

यसले गर्दा व्यापक आर्थिक गतिविधि हुन्छ र एकजना औसत भारतीयले विवाहमा शिक्षामा भन्दा दोबर खर्च गर्ने उक्त प्रतिवेदनले देखाएको छ।

भारतमा ६८१ अर्ब डलर बराबरको खाद्य र दैनिक उपभोग्य सामानको व्यापारपछि विवाह उद्योग दोस्रो ठूलो उपभोग्य बजार हो।

भारतको विवाह बजार अमेरिकाको ७० अर्ब डलरभन्दा झन्डै दोबर आकारको छ। चीनको भने करिब १७० अर्ब डलरको भएका कारण भारतको चीनभन्दा कम छ।

भारतमा वर्षमा ८० लाखदेखि १ करोड विवाह कार्यक्रम हुने गर्छन् जबकि चीनमा ७० देखि ८० लाख र अमेरिकामा २० देखि २५ लाख विवाह समारोहहरू हुन्छन्।

“विवाहका बेला, दुलहीका परिवारले धेरै खर्च बेहोर्छन् जसमा गहना र भाँडाकुँडादेखि विद्युतीय सामाग्री र घरेलु सामानसम्म पर्छ,” दिल्लीमा रहेको सेन्टर फर विमिन डेभेलपमेन्ट स्टडिजकी निर्देशक मनिमिकलाई भन्छिन्।

उनका अनुसार भारतमा विवाह ‘पारिवारिक पर्व’ सरह हो जसमा रीतिरिवाज र फजुल खर्च दुवै हुन्छ। भारतीयहरू विवाहमा आफ्नो सम्पत्ति, हैसियत र समाजमा आफ्नो प्रभाव देखाउने गर्छन्।

“फलस्वरूप, खर्चिलो विवाहका लागि उनीहरू ऋण लिन्छन् र त्यसले गर्दा समाजमा आर्थिक तनाव समेत उत्पन्न गराउँछ। पैसा सापटी नै लिनुपरे पनि धेरै मानिसहरू विवाहका कार्यक्रम गर्नु बाध्यता भएको ठान्छन्। उपभोग्य बजारको प्रभावका कारण युवापुस्ता आनन्दको जीवन चाहन्छन्।”

त्यसै कारण यी भव्य रूपमा गरिने विवाह भनेको कम र मध्यम आय भएका परिवारहरूका लागि स्पष्ट रूपमा अपरिवर्तनीय बोझ हो।

अनन्त राधिका विवाह
तस्बिरको क्याप्शन, विवाह हुने मौसममा भारतमा सुनका गहनाको माग एकदमै धेरै बढ्छ

ऋणमा फस्नु

दक्षिणी भारतको चेन्नाइकी ३२ वर्षीया कार्त्तिका (नाम परिवर्तन),को करिब १० वर्ष अगाडि भव्य रूपमा विवाह भएको थियो। तर अहिले बल्ल उनका आमाबुवा र श्रीमान्‌ले विवाहका लागि लिएको ऋण चुक्ता गर्न सके।

“विवाह गर्ने हल र खानाको लागि मात्रै करिब १२ हजार डलर खर्च भएको थियो,” उनले भनिन्।

आफूले थुप्रै कठिनाइ भोगेका कारण उनी आफ्ना दुई छोरीको साधारण विवाह होस् भन्ने चाहन्छिन्।

तर त्यही सहरका दिनेशलाई भने आफ्नो विवाहका लागि आफ्नो बचतको करिब ७० प्रतिशत रकम खर्च गरेकोमा कुनै पछुतो छैन।

“हाम्रो परम्परा अनुसार विवाह अगाडि नै थुप्रै रीतिरिवाज गर्नुपर्छ। हामीले टिकोटाला, विवाह र त्यसपछिको भोज सबै नै एकदमै ठाँटका साथ गर्‍यौँ,” उनले सम्झिए।

समारोह व्यवस्थापक र योजनाकारको काम गर्ने दिनेशले गहना, विवाह हल, साजसज्जा र फोटो खिच्नका लागि ३६ हजार डलर खर्च गरे।

पछिल्लो समय भारतले आर्थिक सफलता हासिल गरे पनि यो देशको धेरै हिस्सामा गरिबी छ।

विश्व बैङ्कको तथ्याङ्क अनुसार सन् २०२३ मा देशको प्रति व्यक्ति आय २४८४ डलर छ।

अनन्त राधिका विवाह
तस्बिरको क्याप्शन, धेरै भारतीयहरू विवाहमा खर्च जुटाउन नसकेपछि सामूहिक समारोहमा सहभागी भएर पनि आफ्नो विवाह गर्छन्

धेरै खर्च गहनामा

विवाह समारोहका कार्यक्रममा अम्बानी परिवारका सदस्यले लगाएका गहनाको मूल्यबारे थुप्रै अनुमान गरिएका छन् र लेखिएका छन्। जेफरिजको प्रतिवेदन अनुसार भारतीयहरूले विवाहमा मात्रै ३५ देखि ४० अर्ब गहनामा खर्च गर्छन्।

धेरै खर्च गरिने विवाहमा हिराका गहना सबैभन्दा धेरै रुचाइने मानिए पनि मध्यम वर्गीय र गरिब परिवारमा भने विवाहका बेला सुनको माग सबैभन्दा धेरै हुन्छ।

मूल्य वृद्धि भइरहेको भए पनि भारत विश्वमै सुन खपत गर्ने दोस्रो देश हो जहाँ वार्षिक रूपमै सुनको माग बढ्ने ठानिएको छ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार “भारतमा वर्षभरि हुने सुनको मागको आधा विवाहमा मात्रै हुन्छ।”

दुलहीको परिवारले दाइजोका रूपमा दिने सुनका गहनाले विवाहमा हुने खर्चको ठूलो हिस्सा ओगट्छ।

त्यसपछि धेरै खर्च हुने भनेको खानेकुरामा हो जुन वार्षिक रूपमा भारतमा विवाहमा २४ देखि २६ अर्ब डलर हुन्छ। त्यसपछि लुगा, शृङ्गार, फोटो र अन्य कार्यक्रमहरूमा खर्च हुन्छ।

गत वर्ष, प्रधानमन्त्री मोदीले भारतका धनी परिवारहरूलाई देशबाहिर गएर धेरै पैसा खर्च गर्नुभन्दा भारतमै विवाह आयोजना गरेर स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्न अनुरोध गरेका थिए।

अम्बानीहरूले पनि विवाहअगाडिको केही कार्यक्रमहरू क्रुज जहाजमा गरे जुन इटलीबाट सुरु भएको थियो। रोम, कान्ज र पोर्टोफिनोमा उक्त क्रुज यात्रा टुङ्गिएको थियो।

भारतमा, धनी मानिसहरू र बलिवुड सेलिब्रिटीहरूले विवाहका लागि राजस्थान राज्यको जयपुर र उदयपुरजस्ता ऐतिहासिक सहरका दरबार र होटेलहरू अनि गोवाका समुद्री तटहरू रोज्छन्।

“बलिवुड कलाकारहरू आजकाल समुद्री तटमा विवाह गर्न रुचाउँछन्, चर्चित चलचित्रहरूबाट प्रभावित भएर विवाहको योजना गर्ने क्रम बढ्दै गएको छ,” “म्यारिज कलर्स” का क्रिएटिभ डाइरेक्टर प्रदीप चन्दरले भने।

सबै धनी मानिसहरूले खर्चालु विवाह रोज्दैनन्। कम आय भएका र मध्यम वर्गीय धेरै परिवारहरूले मन्दिरमा वा घरमै विवाह गर्छन्।

भारतको दक्षिणी राज्य तमिलनाडुको मदुराइका मनोज खर्च कटौती गर्ने पक्षमा दृढ छन्।

"मैले मेरो विवाह आफ्ना साथी र थोरै आफन्तको उपस्थितिमा गरेँ,” उनले भने।

परिवार र साथीभाइ माझ मात्रै गर्दा उनको विवाहमा खर्च जम्मा करिब ६०० डलर भयो जुन भनेको भारतीय ५०,००० रुपैयाँ हो।

“विवाहमा खर्च गर्नका लागि पैसा उधारो लिनुभन्दा हामीले घरलाई चाहिने सामानमा खर्च गर्‍यौँ,” मनोजले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।